१२ बैशाख २०८१, बुधबार

रुसविरुद्ध एकजुट बन्यो पश्चिमा गठबन्धन

russia

 रुसी आक्रमणको एक वर्ष पुग्न एक सातामात्र बाँकी रहँदा पश्चिमा गठबन्धन रुसविरुद्ध एकजुट भएका छन् ।

जर्मनीको म्युनिखमा आयोजित सुरक्षा सम्मेलनमा सहभागी विश्व नेताहरुले मस्को असफल भइसकेको उल्लेख गर्दै युक्रेनलाई सैन्य सहयोग बढाउनुपर्नेमा जोड दिएका छन् । तीन दिने सुरक्षा सम्मेलनमा बेलायती प्रधानमन्त्री ऋषि सुनक, अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस, फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रो, जर्मन चान्सलर ओलाफ स्कोल्जलगायत सहभागी छन् । 

सम्मेलनमा बेलायती प्रधानमन्त्री ऋषि सुनकले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग सुदृढ गर्न गठबन्धनलाई आग्रह गर्ने भएका छन् । उनले रुसी आक्रमणविरुद्ध दीर्घकालीन सुरक्षा सुनिश्चितता प्रदान गर्न नेटोलाई आग्रह गर्नेछन् । रुसले युक्रेनमाथि आक्रमण गरेको फेब्रुअरी २४ का दिन एक वर्ष पुग्दैछ । 

यसै अवसरमा रुसले नयाँ रणनीतिका साथ आक्रमणलाई तीव्रता दिने आशंका पश्चिमा मुलुकले गरिरहेका छन् । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले पनि गत साता युरोप भ्रमण गरी थप हातहतियार र बन्दोबस्तीका सामग्री उपलब्ध गराउन आग्रह गरेका थिए । उनले आधुनिक लडाकु विमान सहयोगको पनि अपेक्षा गरेका छन् । रुसले शनिबार नै ब्ल्याक सीबाट क्रुज क्षेप्यास्त्र प्रहार गरेको थियो । आक्रमणलाई हवाई प्रतिरक्षा प्रणालीमार्फत् निस्तेज बनाइएको युक्रेनले जनाएको छ ।

    सम्बन्धित समाचार...