११ बैशाख २०८१, मंगलवार

थाईल्यान्डमा दुई रेष्टुराँ सञ्चालकलाई १,४४६ वर्ष जेलसजाय

jailed

थाईल्यान्डमा दुई जना रेष्टुरेन्ट सञ्चालकलाई अदालतले मानिसहरुलाई ठगेको आरोपमा जनही १,४४६ वर्ष जेलसजाय सुनाएको छ ।

गत वर्ष लाएमगेट सीफूड रेष्टुराँले अनलाइनमार्फत्‌ पहिल्यै भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको थियो । थाईल्यान्डको पीबीसी च्यानलका अनुसार बीस हजार जति मानिसले पाँच करोड थाई भाट बराबरको भौचर खरिद गरे । तर पछि कम्पनीले माग पूरा गर्न नसक्ने भन्दै रेष्टुराँ बन्द गर्‍यो।

सो घटनामा सयौँ मानिसले उजुरी गरेको आधारमा अपीचार्ट बोवोर्नबन्चरक र प्रापासोर्न बोवोर्नबन्चरक पक्राउ परेका थिए।

थाईल्यान्डमा उजुरीको सङ्ख्याका आधारमा ठगी गरेको प्रमाणित भएकाहरूलाई लामो जेलसजाय दिइनु असामान्य चाहिँ होइन। यद्यपि थाई कानुनले मानिसहरूलाई ठगी गरेको अभियोगमा २० वर्ष जेलसजाय तोकेको छ।

खानाको प्रवर्द्धनमा गल्ती

गत वर्ष लाएमगेट सीफूड रेष्टुराँले ग्राहकले पहिल्यै भुक्तानी गर्नुपर्ने गरी विभिन्न खाले फूड भौचर विक्री गर्न शुरू गरेको थियो।

एउटा स्किम अनुसार ८८० भाटमा १० जनाका लागि सीफूड पाइने भनिएको थियो । जुन सामान्य मूल्यभन्दा धेरै सस्तो थियो।

सुरुमा भौचर किन्नेहरूले रेष्टुराँमा खानेकुरा पाउन सके तर थाइ पीबीएसका अनुसार लामो वेटिङ्ग लिस्ट (पर्खन बाध्य ग्राहकहरूको सूची) हुँदा कैयौं महिनासम्म बुकिङ चल्यो । 

तर मार्चसम्म पुग्दा लाएमगेट इन्फिनिट नामक कम्पनीले माग अनुसार सीफूड दिन नसक्ने भन्दै रेष्टुराँ बन्द गर्ने घोषणा गर्‍यो ।

थाई पीबीएसका अनुसार कम्पनीले भौचर खरिद गरेका ग्राहकहरूलाई पैसा फिर्ता गर्ने प्रस्ताव गर्‍यो । जसमा ८१८ मध्ये उजुरी गरेका ३७५ जनाले रकम फिर्ता पाए । सो घटनापछि ठगीको आरोपमा बाँकी सयौँले कम्पनी र त्यसका सहसञ्चालकहरूविरुद्ध उजुरी दिएका थिए । 

गलत सन्देशमार्फत्‌ मानिसहरूलाई ठगेको आरोपमा अपीचार्ट बोवोर्नबन्चरक र प्रापासोर्न बोवोर्नबन्चरक पक्राउ परेका थिए ।

७२३ जनालाई ठगेको अभियोगमा उनीहरुलाई अदालतले दोषी ठहर गर्दै जनही १,४४६ वर्ष जेलसजाय तोकेको हो । 

गल्ती स्वीकार गरेपछि उनीहरूको सजाय आधाले घटाएर ७२३ वर्ष कायम गरियो । तर उनीहरूले बढीमा २० वर्ष जेलसजाय काट्नुपर्ने हुन्छ ।

उनीहरूको कम्पनीलाई १८ लाख भाट जरिमाना तिर्न अदालतले आदेश दिएको छ भने सहसञ्चालक तथा कम्पनीलाई क्षतिपूर्ति स्वरूप पीडितहरूलाई २५ लाख भाट तिर्न पनि आदेश दिएको छ । 

एजेन्सी/ बीबीसी