
एलपी ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिने भएको छ ।
काठमाडौंको बुद्धनगरस्थित निवासमा बुधबार राति साढे १० बजे सिलिन्डर विस्फोट हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका हुन् ।
हाल उनीहरु दुवैको कीर्तिपुर अस्तापलको आईसीयुमा उपचार भइरहेको छ । अस्पतालले आज बिहान प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुको उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा लैजान सिफारिस गरेको छ ।
अस्पतालका मेडिकल डाईरेक्टर डा. निजिना ताम्राकार र जलन उपचार विभागका प्रमुख डा. किरण नकर्मीले जारी गरेको विज्ञप्तिमा सांसद भण्डारीको शरीर २५ देखि ३० र आमाको ७० प्रतिशत जलेको उल्लेख छ ।
सांसद भण्डारीको शरीरको अनुहार, दुवै हात र दुवै गोडामा गरी २५ देखि ३० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ ।
दुवैको स्वास नलीमा तातो हावा र धुवाँको कारण जलन भएको हुन सक्ने अत्यधिक सम्भावना रहेको विज्ञप्तिमा उल्लेख छ ।