
यातायात मजदुरहरुले आफ्ना माग पूरा नभए भोलि (मंगलबार) देखि थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
सरकारले विगतमा गरेका सहमति पालना नगरेको भन्दै तोडफोडसहित आन्दोलनमा उत्रिएका उनीहरुले आज (सोमबार) काठमाडौंको गोंगबुलगायतका क्षेत्रमा प्रदर्शन गर्दा यातायात सेवा अस्तव्यस्त भयो ।
ट्राफिक प्रहरीले नियमविपरित चालकहरूको लाइसेन्स निलम्बन गरेको विरोधमा यातायात मजदुरले प्रदर्शन गरेका हुन् । उनीहरूले नयाँ बसपार्क क्षेत्रमा सडकमै सवारी साधन सडकमा तेर्स्याएर अवरुद्ध गरे । स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्याास प्रहार गरेको छ ।
आन्दोलनकारी प्रहरीको दुईवटा भ्यानमा आगजनी गरेको छ भने १० जना प्रहरी घाइते भएका छन । आन्दोलनमा सहभागी ४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मजदुरहरुले ट्राफिक प्रहरीले ऐनविपरीत १५ सय जरिवाना असुलेको, चालकहरूको अनुमतिपत्र जथाभावी निलम्बन गरेको, प्रदूषणका नाममा मनोमानी रकम उठाएको आरोप लगाएका छन्।
सडकमा गाडी राखेर अवरुद्ध गरेका कारण स्थिति नियन्त्रणमा लिन समय लागेको प्रहरीले जनाएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

