२३ बैशाख २०८२, मंगलवार

सरकारलाई असफल हुने बिल्कुल छुट छैन : प्रधानमन्त्री दाहाल

3 1

प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको सरकारलाई असफल हुने बिल्कुल छुट नभएको बताएका छन् ।

जनयुद्ध दिवसको अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘सरकारको नेतृत्व गर्ने अवसरलाई चुनौतीपूर्ण अवसरको रुपमा लिएको छु । हामीलाई असफल हुने विल्कुल छुट छैन । सामाजिक न्याय, सुशासन र आर्थिक विकासको क्षेत्रमा फड्को मार्नै पर्नेछ।’

यसले मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म र भावनालाई ठीक ढंगले कार्यान्वयन गर्न सकिने उनको भनाइ थियो ।

प्रतिनिधिसभामा झन्डै सतप्रतिशत नै समर्थन सरकारले पाएको उल्लेख गर्दै उनले यो समर्थन आफूको आन्दोलनप्रति, सहिद योद्धा र बेपत्ता योद्धाहरु प्रतिको सम्मानसँगै न्यायको कुरा भएको पनि बताए ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेको दाहालले माओवादी आन्दोलनका विभिन्न धाराका समूहलाई फेरि एकताबद्ध हुने आह्वानसमेत गरे ।

‘सबै माओवादी आन्दोलनका विभिन्न धाराका समूहहरुलाई एकताबद्ध भएर फेरि सामाजिक न्याय र रुपान्तरणको निम्ति अगाडि बढ्न अपिल गर्न चाहन्छु ।’ उनले भने ।

केही समयदेखि आन्दोलनलाई एकताबद्ध गर्ने प्रक्रिया अगाडि बढेको बताउँदै सबैका लागि खुशीको कुरा भएको दाहालले उल्लेख गरे ।

एकता प्रक्रियालाई सबैले सहयोग गर्ने प्रतिबद्धता जनाएको जानकारी दिँदै उनले भने, ‘म आफैले पनि धेरै समूहका नेतृत्वसँग कुराकानी गरेको छु । मलाई विश्वास छ पार्टी एकताको अर्को एउटा प्रक्रिया आउने छ । त्यसले माओवादी नेता कार्यकर्ता मात्रै नभएर आम नेपाली जनतालाई नै फेरि एकपटक नयाँ ढंगले उत्साहित गर्ने छ । नयाँ ढंगले संगठित गर्ने वातावरण बन्ने छ ।’

माओवादी आन्दोलन मात्रै नभएर कम्युनिस्ट आन्दोलनका समाजवादी आन्दोलनका शक्तिहरुसँग पनि समाजवादी मोर्चा बनाएर जाने भन्ने सैद्धान्तिक सहमति बनेको उनले बताए । उनले भने, ‘मलाई विश्वास छ छिट्टै एउटा समाजवादी मोर्चा नेपालको भोलिको नेतृत्व निर्माणको विकल्पको रुपमा आउने विश्वास मैले लिएको छु ।’

    सम्बन्धित समाचार...