५ जेष्ठ २०८१, शनिबार

किर्ते जग्गाधनी खडा गरी बैंककै कर्मचारीद्वारा झन्डै ३ करोड ऋण प्रवाह

NICAsia

राजविराजस्थित एनआईसी एसिया बैंकका कर्मचारीहरुको मिलेमतोमा कीर्ते जग्गाधनी खडा गरी २ करोड ८० लाख रुपैयाँ ऋण दिएको रहस्य सार्वजनिक भएको छ ।

जग्गा नामसारीसम्बन्धी आवश्यक पर्ने मालपोत कार्यालयको सम्पूर्ण कागजात किर्ते गरी स्थानीय व्यवसायी मोहम्मद समसाद खानलाई बैंकका शाखा प्रबन्धक सन्तोषकुमार यादवले उक्त ऋण रकम उपलब्ध गराएका हुन् । शाखा प्रमुख यादव र व्यवसायी खान पछिल्लो दुईदिनदेखि सम्पर्कविहीन भएपछि मात्रै यो रहस्य सार्वजनिक भएको हो ।

राजविराज नगरपालिका ९ निवासी वसिरन खातुनलाई नक्कली जग्गाधनी बनाई व्यवसायी खान र बैंकका शाखा प्रमुख यादवसहित माथिल्लो तहका कर्मचारीहरुको मिलेमतोमा उक्त दुई करोड ८० लाखको ऋण स्वीकृत गर्दै प्रदान गरिएको स्रोतको भनाइ छ ।

यता जुन जग्गा धितोबापत अहिले एनआईसी एसिया बैंकले ऋण प्रदान गरेको छ उक्त जग्गा २०७४ फागुन २८ गतेदेखि नै अर्को बैंकको नाममा रोक्का रहेकाले नक्कली जग्गाधनी बनाएको हुनसक्ने भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीका प्रमुख रामनारायण शर्माको भनाइ छ ।

यता एनआईसी एसिया बैंकको राजविराज शाखामा ऋणसम्बन्धी देखिएको अनियमिततापछि विभिन्न तहबाट छानबिन भइरहेको छ भने घटनालाई मिलाउन मालपोतमा अर्को जग्गा धितो राख्ने तयारीसमेत गरिएको छ । यस सम्बन्धमा बैंकले भने सञ्चारमाध्यमलाई आधिकारिक केही बताउन चाहेको छैन । सप्तरीस्थित निजी बैंकहरुमा पछिल्लो केही समययता यसरी नै रकमको अपचलनका घटना बढ्दै जाँदा पनि सम्बन्धित निकाय मौन देखिएको छ ।

    सम्बन्धित समाचार...