१६ चैत्र २०८०, शुक्रबार

सभामुख घिमिरे र चिनियाँ राजदूतबीच भेटवार्ता, चीनतर्फका ६ वटै नाका खोल्ने प्रतिबद्धता

325151451 1392884531517871 7204851755083979088 n.jpg

सभामुख देवराज घिमिरेसँग नेपालका लागि चीनका राजदूत छेन् सोङले शिष्टाचार भेट गरेका छन् । 

सिंहदरवारस्थित सभामुखको कार्यालयमा बुधबार भएको भेटमा दुईपक्षीय मैत्रीपूर्ण सम्बन्ध,  संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको छ । भेटमा चिनियाँ राजदूतले चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले सभामुख घिमिरेलाई पठाएको शुभकामना सन्देश हस्तान्तरण गरेका छन् ।  

यही माघ ५ गते घिमिरे प्रतिनिधिसभाको सभामुख निर्वाचित भएका थिए । चिनियाँ राजदूत सोङले सभामुख घिमिरे वरिष्ठ राजनीतिक रहेको स्मरण गर्दै नेपालको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा अथक भूमिका निर्वाह गरेको भन्दै सफल कार्यकालको शुभकामना दिए । 
सभामुख घिमिरेले नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतामा चीनले इतिहासदेखि नै देखाउँदै आएको नीतिको सराहना गर्दै ‘एक चीन नीति’प्रति नेपाल दृढ रहेको, नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने र चीनको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई उच्च महत्व दिने उल्लेख गरे । 
उनले कोभिड महामारीमा चीनले स्वास्थ्य सामग्री र खोपका लागि पु¥याएको सहयोगको प्रशंसा गरे । भूकम्पपछिको पुनर्निर्माणमा चीनबाट भएको सहयोग स्मरणीय रहेको बताउँदै सभामुख घिमिरेले दुई देशका नाकाहरु क्रमशः खुलाउन सहयोग हुने विश्वास व्यक्त गरे । 

भेटमा सभामुख घिमिरेले चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले गत भदौमा गरेको नेपाल भ्रमणमा भएको अन्तरसंसदीय सहकार्य सम्बन्धी समझदारी कार्यान्वयन गर्न संघीय संसद सचिवालयले कार्यआरम्भ गरेको जानकारी दिए । 

राजदूत सोङले चिनियाँ राष्ट्रपतिको तीन वर्षअघि भएको भ्रमणपछि नेपालमा पूर्वाधार लगायतका क्षेत्रमा चीनले ठूलो लगानी गरेको बताउँदै आगामी दिनमा पनि निरन्तरता दिने बताए । 

उनले नेपालको समृद्धिको चाहनालाई चीनले उच्च प्राथमिकतामा राखेको समेत जानकारी दिए । राजदूत सोङले चिनियाँ नाकाहरुबाट हुने ढुवानी क्षमतामा सुधार भएको जनाउँदै आगामी दिनमा चीनतर्फका ६ वटै नाका क्रमशः खुलाउँदै जाने प्रतिबद्धता जनाए । 

    सम्बन्धित समाचार...