१५ चैत्र २०८०, बिहीबार

दलहरुले अहिलेसम्म राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्नेबारे छलफलसम्म गरेका छैनन्

kursi 1

राष्ट्रपति चयनका लागि एक महिनाको मात्र समय बाँकी छ । तर, राजनीतिक दलहरुले अहिलेसम्म कसलाई उम्मेदवार बनाउने भन्नेबारे छलफलसम्म गरेका छैनन् । सत्ता गठबन्धन दलबीच नेकपा एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने सहमति छ । तर, एमालेले गठबन्धनका अरु दललाई समेत मान्य हुने उम्मेदवार चयन गर्नुपर्नेछ । त्यो त्यति सहज छैन । त्यसमाथि प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि राष्ट्रपतिमा दाबी गरिरहेको छ । यस्तो अवस्थामा राष्ट्रपति चयनका विकल्प के हुन सक्छन् त ?

निर्वाचन आयोगले फागुन २५ गते नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको लामो समय भइसक्दा पनि दलहरुले उम्मेदवारका विषयमा छलफल अघि बढाएका छैनन् । विशेष गरेर राष्ट्रपतिमा दाबी गरिरहेका नेकपा एमाले र नेपाली कांग्रेसले उम्मेदवारीका विषयमा छलफल गर्नुपर्ने हो । तर, न एमालेले अहिलेसम्म कुनै दलसँग छलफल गरेको छ, न त कांग्रेसले नै सत्ता गठबन्धनसँग परामर्श नै गरेको छ ।

सत्ता गठबन्धनका दलहरु नै राष्ट्रपति कसलाई बनाउने भन्नेमा छलफल गर्न समय बाँकी नै रहेको बताउने गरेका छन् ।

अहिलेको यो परिस्थितिमा राष्ट्रपतिको उम्मेदवार बनाउन दलभित्र विभिन्न चार विकल्प देखिन्छन् । जसमा पहिलो विकल्प हो- एमाले अध्यक्ष ओलीले दिने नामलाई स्वीकार गर्ने । दोस्रो- प्रधानमन्त्री दाहालले रोजेको एमालेकै उम्मेदवार । तेसो- एमाले-कांग्रेसबाहेकका दलबाट गठबन्धनको साझा उम्मेदवार बनाउने । र, चौथो विकल्प- विपक्षी गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार बनाउने ।

एमालेले अध्यक्ष केपी शर्मा ओलीको रोजाइमा जो पर्छ, उसैलाई उम्मेदवार बनाउने सम्भावना छ । ओलीले आफ्ना वफादार कार्यकर्तालाई राष्ट्रपतिमा अघि सार्ने छनक बुझेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल झस्किएका छन् । एमालेलाई राष्ट्रपति दिनैपर्ने भए संविधानसभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेम्वाङ वा वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको नाम भए सहज हुने बुझाइमा दाहाल छन् ।

त्यसो त प्रधानमन्त्री दाहालले सकेसम्म आफ्नै पार्टीबाट राष्ट्रपति बनाउने चाहना नराखेका होइनन् । आफैं प्रधानमन्त्री भएका बेला आफ्नै पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनाउन नसकिने अवस्थामा दाहालको रोजाइ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि हुन् । तर, एमाले अध्यक्ष ओली त्यो स्वीकार्न तयार छैनन् । गठबन्धन दलभित्र कस्ता व्यक्तिलाई उम्मेदवार बनाउने भन्नेमा अहिलेसम्म परामर्शसम्म नहुने र प्रतिपक्षी दल कांग्रेसले पनि छलफल नथाल्नुले राष्ट्रपति कस्तो व्यक्ति हुन्छन् अन्योल कायमै छ ।