
नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ ।
थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत राणाको आइतबार बिहान निधन भएको हो ।
राणाका ज्वाईं तथा नेपाली कांग्रेसका नेता सुनीलबहादुर थापाले उनको निधन बिहान साढे ६ बजे भएको जानकारी दिए ।
जबराले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमअन्तर्गत रहेर सन् १९६२ देखि १९८६ सम्म विभिन्न देशहरूमा प्रतिनिधिको रुपमा काम गरेका थिए । उनी २०१३ साल वैशाख १० गते नेपालको पहिलो गभर्नरमा नियुक्त भएका थिए ।
उनी गभर्नर भएसँगै नेपालबाट भारुको चलन विस्थापित गर्न सफल भएका थिए । उनको पालामा निर्धारण गरिएको भारुको विनिमय दर १०० को १६० रुपैयाँ अहिले पनि कायम छ ।
उनले जागिरबाट अवकाश लिएपछि व्यवसायमा हात हालेका थिए । गोर्खा ब्रुअरी कम्पनी खोलेर टुबोर्ग, काल्सवर्ग वियर उनैले नेपाल भित्र्याएका थिए । पछि उक्त कम्पनी बेचेर उनले हिमालयन बैंक खोलेका थिए । बैंकसँगै हिमालयन डिस्टिलरी पनि उनैले स्थापना गरेका थिए ।