८ बैशाख २०८१, शनिबार

न दाहालले गृहमन्त्री दिए, न रास्वपाले सरकार छोड्यो

rabi and prachanda 1200x560 1

आफ्नो दलले गृहमन्त्री नपाए सरकारबाटै बाहिरिने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको दुई दिने चेतावनीको समय सीमा आज सकिँदै छ । तर, अहिलेसम्म न प्रधानमन्त्रीले रवि लामिछानेलाई गृहमन्त्री बनाए, न त राष्ट्रिय स्वतन्त्र पार्टीले नै सरकार छाड्ने निर्णय गर्न सक्यो । दुवै पक्षबीच घुर्क्याउने र फकाउने खेल जारी छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको बिहीबार बसेको बैठकले तत्काल सत्ता गठबन्धनको राजनीतिक संयन्त्रको बैठक बोलाउन माग गरेको थियो । तर, दुई दिने अल्टिमेटमको समयसीमा सकिने बेलासम्म राजनीतिक संयन्त्रको बैठक बस्न सकेन । एमाले र माओवादीको शीर्ष तहमा अनौपचारिक छलफल चले पनि बैठक नबोलाइएकोमा रुष्ट बनेका स्वतन्त्र पार्टीका नेताले भने गठबन्धन नै फेरबदल आउन सक्ने थप चेतावनी दिएका छन् ।

राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार बिहानै बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालसँग गृहमन्त्रीबारे छलफल गरे । सो छलफलपछि पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी समिति बैठकमा सहभागी भएका प्रधानमन्त्री दाहालले भने राष्ट्रिय स्वतन्त्र पार्टीसँग सहमति जुट्ने दाबी दोहोर्‍याएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको मागबारे छलफल गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्नुपर्ने हुन्छ । तर, प्रधानमन्त्री दाहाल र संयन्त्रका संयोजक ओलीबीचको विवादकै कारण बैठक बस्न सकेको छैन । दुई नेतामध्ये एक जनाको मात्रै अनुपस्थितिमा पनि बैठक बस्न सक्दैन । तैपनि माओवादी नेताहरूले सत्ता गठबन्धनबीच सहमति नटुट्ने दाबी गर्न भने छाडेका छैनन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृह मन्त्रालय दिन एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई निरन्तर दबाब दिइरहेका छन् । तर, प्रधानमन्त्री दाहाल भने गृह मन्त्रालय दिन इच्छुक छैनन् । दुई नेताको यही खटपटका कारण गठबन्धन नै भत्किने हो कि भन्ने आशंका बढेको छ ।