१५ चैत्र २०८०, बिहीबार

रास्वपाको अल्टिमेटम सकिँदै, प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

Oli prachanda

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको दुई दिने अल्टिमेटम सकिँदै गर्दा सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उच्च स्तरीय राजनीतिक संयन्त्रका संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको हो ।

अध्यक्ष ओलीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्नुभएको हो । उहाँहरुबीच रास्वपाको मागलगायत समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको बताइएको छ ।

रास्वपा गृहमन्त्रालय पाउनुपर्ने अडानमा छ । गत बिहिबार बसेको रास्वपाको बैठकले प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीको फोनपछि आजसम्म कुर्ने निर्णय गरेको थियो । उच्चस्तरीय संयन्त्रको बैठक डाक्नुपर्ने पनि उसको माग छ ।

नागरिकता प्रकरणमा रास्वपा अध्यक्ष रवि लामिछानेले गृहमन्त्रीको पद गुमाउनु परेको थियो । तर नेपाली नागरिकता पुनः प्राप्ति गरेपछि लामिछाने सोही पदमा पुनः फर्कने कसरतमा हुनुहुन्छ ।

प्रधानमन्त्री प्रचण्ड रास्वपालाई गृह मन्त्रालय नदिने अडानमा हुनुहुन्छ । एमाले अध्यक्ष ओली भने गृहमन्त्रालय रास्वपाको भागमा परेको भन्दै सहमति कार्यान्वय गर्नु पर्नेमा जोड दिंदै आउनु भएको छ ।