१५ चैत्र २०८०, बिहीबार

५ वर्षपछि भेटियो श्रीमानको हत्या गरी गाडिएको शव

JajarkotPakrau 1675252360

श्रीमतीले हत्या गरी गाडेको श्रीमानको शव पाँच वर्षपछि भेटिएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको टोलीले मंगलबार शौचालयको खाडलमा शव फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जाजरकोटको भेरी नगरपालिका ६, सिस्नेका काले कामीलाई श्रीमती भद्रकला कामीले हत्या गरेको खुलेको हो । २०७४ पुस ३० गते राति भद्रकलाले आफ्ना श्रीमानलाई निधारमा लाठीले हानेर हत्या गरेको खुलेको जिल्ला प्रहरी प्रमुख सन्तोष निरौलाले जानकारी दिए ।

हत्यामा उनका छोराहरू तुल्सीराम र गोविन्द पनि संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । काले कामीको मृत्यु भएपछि श्रीमती भद्रकला र छोराहरूले सल्लाह गरी घरनजिकैको शौचालयको खाडलमा पुरेका थिए । यही माघ १७ गते यो विषयमा प्रहरीलाई गोप्य सूचना प्राप्त भएपछि जिल्लाबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली घटनास्थल पुगेर शौचालयको खाडल खनेको थियो ।

खाडलमा पूरै दाँतसहितको खप्पर, प्लास्टिकको डोरीले बाँधिएको ज्याकेट, पाइन्ट र ती कपडाभित्र मानव हड्डी भेटिएको थियो । घटनाबारे आवश्यक थप अनुसन्धानका लागि श्रीमती भद्रकला र छोरा तुल्सीरामलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय जाजरकोटमा राखिएको छ ।

    सम्बन्धित समाचार...