१३ बैशाख २०८१, बिहीबार

जहाजले जमिनबाट एक हजार फिटको उचाइमा आइसकेपछि निर्धारित धावनमार्ग परिवर्तन गर्न नपाउने

air flight
फाइल फोटो

भिज्युअल फ्लाइट रुल भीएफआर अनुसार अवतरण गर्ने जहाजले जमिनबाट एक हजार फिटको उचाइमा आइसकेपछि अब निर्धारित धावनमार्ग परिवर्तन गर्न नपाउने भएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा उड्ने सबै वायुयानका लागि यस्तो नियम ल्याएको छ । प्राधिकरणका अनुसार यो नियम छोटो धावनमार्ग भएका पहाड र हिमालका विमानस्थलमा ५ सय फिट तोकिएको छ ।

माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको जहाजले सुरुमा धावनमार्गको एक छेउ ‘थ्रीजीरो’ बाट अवतरणका लागि अनुमति पाएको थियो । तर, पाइलटले जहाजलाई मोडेर अर्को छेउ ‘वानटु’बाट जहाज अवतरण गराउने निर्णय लिएका थिए ।

जहाज जमिनको धेरै तल आइसकेको अवस्थामा लिइएको यो अस्वभाविक फन्कोलाई नै विज्ञहरुले दुर्घटनाको कारण भन्ने गरेका छन् । यसबारे सरकारले गठन गरेको छानविन आयोगले भने अनुसन्धान गरिरहेको छ ।

इन्स्ट्रुमेन्ट फ्लाइट रुल आईएफआर जडित जहाज भने कुन अवस्थामा कति उचाइ कायम गर्ने भन्ने सम्बन्धमा प्रोफाइल कायम गरी अवतरण हुने गर्छ ।

प्राधिकरणले आईएफआर प्रणाली जडान भएका विमानस्थलमा भीएफआर अनुसार जहाज उडाउन रोक लगाएको छ । यो नियम साना जहाजहरु ट्वीनअटर, एलईटी–४१०, डोर्नियर लगायतमा भने अनिवार्य गरिएको छैन ।

यस्तै प्राधिकरणले कुनै एक गन्तव्यबाट जहाज उडाएर गएको पाइलट र कोपाइलटको जोडी बीचमा परिवर्तन गर्न सकिने नियम पनि परिवर्तन गरेको छ ।

यस्तै प्राधिकरणले दुर्गम भेगका विमानस्थलमा उडान गर्ने पाइलटको दैनिक ड्युटी आवर समेत घटाएको छ । अब यी विमानस्थलमा एक जना पाइलटले दैनिक ८ घण्टा वा ८ उडान र अवतरण मात्र गर्न सक्ने छन् । यसअघि १० घण्टा वा १० उडान अवतरण रहेको थियो ।

    सम्बन्धित समाचार...