१३ बैशाख २०८१, बिहीबार

भारतीय नागरिकले प्रहरीको एसएलआर बन्दुक खोसेपछि सर्लाहीमा झडप, एक जनाको मृत्यु

hawai fire

सीमाको सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी बलमाथि भारतीय नागरिकले आक्रमण गरेका छन् ।

भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा सर्लाहीको सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको हो । त्यसक्रममा एक जना भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेको परिचय खुलिसकेको छैन ।

सशस्त्र प्रहरी बलका सर्लाहीका एसपी गंगाराम श्रेष्ठले सशस्त्र प्रहरीले १५ राउन्ड गोली हानेको पुष्टि गरे।

‘नेपाल आउन खोजेका भारतीयलाई रोक्न खोज्दा ड्युटीमा रहेका सशस्त्रमाथि आक्रमण गरे। हतियार खोसेर लगे। हतियार फिर्ता ल्याउनहामीले पहिला १० राउन्ड हवाइ फायर गर्‍यौं तैपनि उनीहरूले हतियार नदिएपछि पछि पाँच राउन्ड गोली हानेका हौं,’ एसपी श्रेष्ठले भने।

उनले घटनामा तीन भारतीय र सशस्त्रका पनि केही जवान घाइते भएको बताए।

पर्सा गाउँपालिका– ३, नारायणपुरमा भारतीय नागरिकहरु नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले रोकेको थियो । त्यसक्रममा भएको झडपका क्रममा भारतीय नागरिकले सशस्त्र प्रहरीको एसएलआर बन्दुक पनि खोसेका थिए ।

हतियार खोस्न आउने केही व्यक्ति पक्राउ परेको जनाएको छ । सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ।

सीमा क्षेत्रमा भारतीय नागरिक जवर्जस्ती नेपाल प्रवेश गर्न खोज्ने र सशस्त्र प्रहरी बलले रोक्न खोज्दा बारम्बार झडप हुँदै आएको छ ।