
सत्तारुढ नेकपा माओवादी केन्द्रले आज (बुधबार)को लागि बोलाएको स्थायी समिति बैठक स्थगित भएको छ ।
बैठकका लागि पूर्ण तयारी नपुगेकाले आजको बैठक सारिएको पार्टी महासचिव देव गुरुङले कान्तिपुर टेलिभिजनलाई जानकारी दिए । आज स्थगित भएको बैठक भोलि बस्ने उनले बताए ।
‘बैठकको तयारी नपुगेकाले स्थगित भएको छ । आजको बैठक भोलि बस्नेछ ।’ उनले भने ।
यसअघि सोमबार र मंगलबार दुई दिन माओवादीको पदाधिकारी बैठक बसेको थियो ।
पदाधिकारी बैठकले जिल्ला तहसम्मको पार्टीको जिम्मेवारी हेरफेरको निर्णय गरेको छ । उक्त निर्णयलाई स्थायी समिति बैठकले अन्तिमरुप दिने जानकारी दिइएको छ ।
यस्तै, पार्टीका नेताहरुको कार्यविभाजन, जिम्मेवारी हेरफेरलगायतका विषयमा छलफल गर्न स्थायी समिति बैठक बोलाइएको हो ।
हिजोको पदाधिकारी बैठकले रवि लामिछानको मुद्दामा सर्वोच्च अदालतको पूर्ण पाठ नआएसम्म गृहमन्त्रालय आफैँसँग राख्ने निर्णय गरेको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले गृह मन्त्रालय आफूले पुनः पाउने पर्ने माग गरिरहेका बेला सरकारको नेतृत्व गरेको माओवादीले तत्काल गृह नदिने निर्णय गरेको हो ।
नागरिकता विवादमा सर्वोच्च अदालतले लामिछानेको पुरानो नागरिकतालाई अवैध ठहर गर्दै सांसद पद खारेज गरिदिएको थियो । माओवादीले उक्त मुद्दाको पूर्णपाठ नआउन्जेल गृह आफैसँग राख्ने भएको हो ।