१३ बैशाख २०८१, बिहीबार

सार्वजनिक जग्गा व्यक्तिको नाममा किनबेच रुपन्देहीमा, मालपोत कार्यालयले थाल्यो छानबिन

jagga

बढ्दो सहरीकरणका कारण रूपन्देहीमा जग्गाको मोल बर्सेनि नाटकीय रूपले बढ्दै गएको छ । मूल्य बढेसँगै जग्गा चलखेल गर्ने र सार्वजनिक जग्गा व्यक्तिको नाममा हत्याउने धन्दासमेत मौलाएको छ ।

तिलोत्तमा नगरपालिका-६, आनन्दवन हरपुरमा रहेको सार्वजनिक जग्गा स्थानीय शान्तकुमार कार्की र रञ्जना थापा क्षेत्री दम्पतीले नयाँ कित्ता नम्बर कायम गरेर यो जग्गा दर्ता गरेका छन् । करिब ३ बिगाहा ३ कठ्ठा जग्गा आफ्नो नाममा बनाउने कार्की स्थानीय विद्यालयका शिक्षकसमेत हुन् । बस्ती नजिकको उक्त जग्गा बिचौलिया प्रयोग गरी ८ करोड रुपैयाँमा बेच्न प्रचार गरेपछि वास्तविकता खुलेको हो ।

‘किर्ते काम नै गरेको ठहर्छ । तसर्थ यो जग्गा कुनै व्यक्तिको नाममा नभइकन सामुदायिक वनकै नाममा रहन्छ भन्नेमा हामी विश्वस्त छौँ ।’ वडाध्यक्ष शिव पाठकले भने ।

कार्कीले २०६९ साउन १५ गते २ बिघा ६ कठ्ठा सार्वजनिक जग्गा कित्ता नम्बर १४० कायम गरी दर्ता गराएको मालपोत कार्यालयको अभिलेखमा देखिन्छ ।

कित्ता नम्बर १४३ को ११ कठ्ठा पौने १० धुर र २१३ को १६ धुर सार्वजनिक जग्गा २०६९ साउन १२ गते व्यक्तिगत नाममा गराएका थिए । उनले २०७२ वैशाख २३ गते ती जग्गाको जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि निकालेका छन् । यी तीनै कित्ता जग्गा एकै ठाउँमा छन् । तर, मालपोतमा तीनवटै कित्ताको जग्गा विगतमा कहीँकतै व्यक्तिका नाममा रहेको देखिँदैन ।

त्यस्तै बुटवल ११ मा रहेको एक बिगाहा १० धुर जग्गा, कारोबारी समूहले कृष्ण भुसाल जैसीका नाममा लालपूर्जा बनाएर बेचबिखन गरेको भेटिएको छ । पाँचमौजा तपाह सिंचाई व्यवस्थापन समितिले २०७१ सालमा उक्त जग्गा पार्वती पाण्डेले जोतभोग गर्दै आएको प्रमाणित गरेको थियो । तर जग्गा दलालले २०५१ सालमा सुकुम्बासी समस्या समाधान आयोगबाट कित्ता नं १९९ को ७ कठ्ठा र कित्ता नं १८७ को ४ कठ्ठा ५ धुर गरी ११ कठ्ठा ५ धुर जग्गा कृष्णको नाममा पूर्जा निकालेको नक्कली विवरण बनाएर २०७२ सालमा दर्ता गरेका थिए । त्यसमध्येको एउटा कित्ता गत पुस ९ गते प्रतिलिपि निकालेर बेचिसकेका छन् ।

सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता भई बेचबिखन हुने घटना बढेपछि मालपोत कार्यालय बुटवलले अहिले जिल्लाका सार्वजनिक जग्गा किन र कसरी व्यक्तिका नाममा दर्ता भए भनेर अध्ययन थालेको छ । तर, स्रेस्ता नै फेला नपरेका सार्वजनिक जग्गा कुन मितिमा कसको युजर आईडीबाट कम्प्युटर प्रणालीमा प्रविष्ट भयो ? नापी र मालपोतको रजिस्टरमा व्यक्तिका नाममा नदेखिएको जग्गा कार्यालयको अनलाइनबाट कसरी व्यक्तिको नाममा आयो ? प्रश्न पेचिलो छ ।

    सम्बन्धित समाचार...