७ बैशाख २०८१, शुक्रबार

पाकिस्तानको पेसावरमा आत्मघाती बम विस्फोट, ५९ को निधन

pakistan

पाकिस्तानको उत्तर पश्चिमी सहर पेशावरस्थित एउटा मस्जिदमा सोमबार भएको आत्मघाती बम विस्फोटमा निधन हुनेको संख्या ५९ पुगेको छ ।

घटनामा एक सय ५७ जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको पाकिस्तानी अधिकारीहरुले बताएका छन् । मस्जिदमा प्रार्थना गरिरहेका प्रहरीलाई लक्षित गरी उक्त विस्फोट गराइएको आशंका गरिएको छ । उक्त मस्जिद पेशावरको कडा सुरक्षा व्यवस्था रहने क्षेत्रमा पर्दछ । यस क्षेत्रमा उक्त मस्जिदका साथै प्रहरी मुख्यालय, गुप्तचर र प्रतिआतंकवाद ब्यूरोको कार्यालयसमेत रहेको छ ।

विस्फोट हुँदा ३ सयदेखि ४ सय प्रहरी उक्त क्षेत्रमा उपस्थित रहेका पेशावरका प्रहरी प्रमुख इजाज खानले जानकारी दिएका छन् । पाकिस्तानका प्रधानमन्त्री शहबाज खानले आतंककारीहरुले देशको सुरक्षामा खटिएका व्यक्तिहरुलाई लक्षित गरेर त्रास सिर्जना गर्न खोजेको टिप्पणी गरेका छन् ।

चरमपन्थी समूह पाकिस्तानी तालिबानले विस्फोटमा आफ्नो संलग्नता अस्वीकार गरे कोछ । यसअघि उक्त समूहकै एक जना कमाण्डरले भने आफूहरुले उक्त विस्फोट गराएको दाबी गरेका थिए । यो समूहले गत नोभेम्बरमा सरकारसँगको युद्ध विराम भंग गरे यता उक्त क्षेत्रमा हिंसात्मक गतिविधि बढेको छ । “पाकिस्तानी-तालिबान” अफगान-पाकिस्तान सीमामा हिंसात्मक गतिविधि सञ्चालन गर्दै आएका थुप्रै इस्लामिक चरमपन्थी समूहहरुको छाता संगठन हो ।

विस्फोटका कारण दुई सय ५० देखि तीन सय मानिस अटाउने क्षमता रहेको मस्जिदको मुख्य सभाकक्षको छत नै खसेको थियो । स्थानीय समयअनुसार सोमबार दिउँसो करिब साढे एक बजेतिर दिवाकालीन प्रार्थनका लागि मानिसहरु भरिभराउ रहेका बेला उक्त विस्फोट गराइएको थियो ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले घटनाको भर्त्सना गरेका छन् ।

    सम्बन्धित समाचार...