७ बैशाख २०८१, शुक्रबार

कीर्तिमानी रकममा इन्जो फर्नान्डेजलाई अनुबन्ध गर्दै चेल्सी

Enzo Fernandez

इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले विश्व विजेता इन्जो फर्नान्डेजलाई एक सय २० मिलियन युरोमा अनुबन्ध गर्ने तयारी गरेको छ ।

स्थानीय रिपोर्टका अनुसार अर्जेन्टिनी उदयीमान खेलाडी फर्नान्डेजलाई पोर्चुगिच फुटबल क्लब बेनफिकाबाट कीर्तिमानी रकममा भित्र्याउन चेल्सीले तयारी गरिरहेको हो । यदि यो सम्झौता हुने हो भने इंग्लिस फुटबलको सबैभन्दा महँगो सम्झौता हुनेछ ।

यस अघि सन् २०२१ मा ज्याक ग्रिलियस इंग्लिस फुटबलका सबैभन्दा महँगो रकम एक सय मिलियन पाउण्डमा एस्टोन भिल्लाबाट म्यानचेस्टर सिटीमा अनुबन्ध भएका थिए ।

यसअघि बेनफिकाले फर्नान्डेजलाई चेल्सीले अस्तव्यस्त पार्न खोजेको आरोप लगाएको थियो । जसका कारण फर्नान्डेजको स्थानान्तरण अहिलेलाई बन्द भएकोसमेत बताइएको थियो । यद्यपि, बेनफिकाका लागि फाइदा हुने अवसर प्रदान गरेपछि क्लब राजी भएको बताइएको छ ।

फर्नान्डेज गत अगस्टमा मात्रै १० मिलियन पाउन्डमा अर्जेन्टिनी क्लब रिभर प्लेटबाट पोर्चुगलको लिस्बोनस्थित बेनफिका पुगेका थिए । विश्वकप २०२२ मा गरेको प्रर्दशनका आधारमा उनीमाथि युरोपेली ठूला लिग क्लबले नजर लगाएका हुन् ।

अर्जेन्टिनी युवा खेलाडी फर्नान्डेज कतार विश्वकपका उदयीमान खेलाडी घोषित भएका थिए । उनले समूह चरणमा अर्जेन्टिनाले मेक्सिकोलाई २ – ० गोलले हराउँदा एक गोल गरेका थिए ।

    सम्बन्धित समाचार...