१३ बैशाख २०८१, बिहीबार

को-को छन् राष्ट्रपतिका आकांक्षी ?

kursi 1

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २९ गते सकिँदै छ । राष्ट्रपतिको कार्यकाल सकिनु एक महिनाअघि निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि निर्वाचन आयोगले चुनावको मिति भने तोकिसकेको छैन ।

चुनावको मिति नतोकिए पनि राष्ट्रपतिमा धेरै नेताले आकांक्षा राखेका छन् । राष्ट्रपति आफैले पाउनुपर्छ भन्ने दलहरूले पनि आधिकारिक उम्मेदवार घोषणा गरेका छैनन् ।

नयाँ राष्ट्रपति चुन्न कहिले चुनाव हुन्छ ? मितिबारे न निर्वाचन आयोगले केही बताएको छ, न सरकारले नै कुनै सुझाव दिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा चुनावपछि नयाँ सरकार बने पनि राष्ट्रपति कुन दलले पाउने भन्ने कुनै टुंगो लागेको छैन । सत्ता बाहिर रहेर पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको कांग्रेसले राष्ट्रपतिमा दाबी गरेको छ । तर, राष्ट्रपति कसलाई बनाउने भन्ने निर्णय गरिसकेको छैन । संसद्को ठूलो दल कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, मानबहादुर विश्वकर्मा गोपालमान श्रेष्ठ लगायत नेता राष्ट्रपतिका आकांक्षी छन् ।

नयाँ सरकार गठन हुँदा राष्ट्रपति पाउने सहमति भएको एमालेको दाबी छ । संघीय संसद् र प्रदेश सभाको अंक गणितअनुसार सत्ता गठबन्धन बलियो अवस्थामा छ । त्यसैले पनि एमालेमा क्रमिकरुपमा आकांक्षी बढ्दै गएका छन् । नेताहरू ईश्वर पोख्रेल, सुवासचन्द्र नेम्बाङ, अष्टलक्ष्मी शाक्य, डोरमणि पौडेल, गुरु बराल लगायतले आकांक्षा राखेको बताइन्छ । अध्यक्ष केपी शर्मा ओलीले कसलाई अघि सार्छन् भन्नेमा भने अन्य नेताहरू अनभिज्ञ छन् ।

पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल, बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पनि राष्ट्रपतिमा चाहना राखेका छन् । आकांक्षी थपिँदै गए पनि न दलले आफ्नो उम्मेदवारका बारेमा बोलेका छन्, न दलहरूले सामूहिक रूपमा कुनै निर्णय गरेका छन् । राष्ट्रपति निर्वाचनमा निर्णायक देखिएको माओवादी केन्द्र भने राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति चुन्नु पर्ने पक्षमा छ ।

राष्ट्रपति संवैधानिक पद भए पनि पूर्वराष्ट्रपति रामवरण यादव र राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको शक्तिको प्रयास र अभ्यासका कारण पनि नेताहरू राष्ट्रपति बन्न लालायित छन् । राष्ट्रपतिलाई फरक शक्ति केन्द्रको रूपमा स्थापित गर्न चाहने दलहरूको मानसिकताले पनि राष्ट्रपति चुनावमा धेरैको चासो बढेको छ ।