१३ बैशाख २०८१, बिहीबार

लक्ष्मी कोइरीलाई समाउनै पर्ने भए समाउनुहोस्, एमाले नेताबाट अवरोध हुने छैन : महासेठ

mahaseth

सत्तारुढ नेकपा (एमाले) का सचिव रघुवीर महासेठले हत्याको आरोपमा फरार रहेका पार्टीका सांसद लक्ष्मी महतो कोइरीको बचाऊ गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा मंगलबार उनले अदालतले दोषी करार नगरेको भन्दै सांसद महतोलाई पक्राउ गर्ने हो भने त्यसमा आफ्नो पार्टीको कुनै पनि नेताले बाधा, अवरोध नपुर्‍याउने समेत स्पष्ट पारे । सचिव महासेठले शेरबहादुर देउवा नेतृत्वको सरकारले समाजसेवी पदक दिनका लागि सिफारिस गरेको व्यक्ति कसरी अपरोधी भयो ? भन्दै प्रश्न समेत गरे ।

महतोलाई महोत्तरीका शोषित पीडित जनताले लक्ष्मी पूजाको दिनमा लक्ष्मीलाई पूजा गरेर जसरी सम्मान गरिरहेको बेला उनीमाथि अपराधी करार गर्ने काम सांसदहरुले गर्न नहुने उनको तर्क थियो । सचिव महासेठले नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाप्रति लक्षित गर्दै सांसद महतो अपराधी हो भने देउवा नेतृत्वको सरकारले किन कारबाही गरेन, भनेर विचार गर्न पनि आग्रह गरे।

सांसद महतो हाल पार्टीको सम्पर्कमा नरहेको जानकारी दिँदै कानुन बमोजिम उनलाई कारबाही गर्न सरकारलाई पार्टीको तर्फबाट कुनै पनि अवरोध नहुने स्पष्ट पारे ।

‘माननीय लक्ष्मी महतो अहिले हाम्रो पार्टीको सम्पर्कमा हुनुहुन्न । यदि प्रहरी प्रशासनले उहाँलाई हिरासतमा लिएको छ भने सार्वजनिक गर्नु पर्‍यो । यदि लिएको छैन भने कानुनअनुसार प्रहरी प्रशासनले जुन कारबाही गरि राखेको छ । त्यो क्रममा एमाले र एमालेका नेताहरुमाथि जुन आरोप लगाईरहेको छ । त्यसमा कुनै सत्यता छैन,’ उनले भने, ‘उहाँलाई समाउनै पर्नेछ भने तपाईहरु समाउनुहोस् । नेकपा एमाले र नेकपा एमालेका कुनै पनि नेताहरुबाट बाधा, अवरोध आउने छैन ।’

सचिव महासेठले शेरबहादुर देउवा, केपी ओली, पुष्पकमल दाहालसहितका शीर्ष नेताहरुको नामै लिएर अपराधी भनेर आरोप लगाइएका नेताहरुले प्रधानमन्त्री भएर मुलुक चलाएको स्मरण गर्न पनि सांसदहरुलाई सचेत गराए । उनले अदालतले पुष्टि नगरेसम्म सांसद महतोलाई दोषी करार गर्ने काम नगर्न पनि अनुरोध गरेका छन् ।

    सम्बन्धित समाचार...