६ बैशाख २०८१, बिहीबार

एम्बाप्पे एक्लैले गरे ५ गोल

PSG Mbappe

फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कपको अन्तिम १६ मा प्रवेश गरेको छ ।

पीएसजीले छैटौँ श्रेणीको क्लब पेस डी क्यासेललाई ७ – ० गोलको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको प्रि-क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

अन्तिम ३२ सम्म पुग्न पेस डी क्यासेलले तीन वटा खेल जितेको थियो । उत्तरी फ्रान्सको यो क्लबमा सबै एम्याच्युर खेलाडी छन् । गएराति पनि पेस डी क्यासेलले पीएसजीलाई २९ मिनेटसम्म रोकेको थियो । तर त्यसपछि एम्बाप्पेले २९, ३४ तथा ४० औँ मिनेटमा गोल गर्दै पहिलो हाफमै ह्याट्रिक पूरा गरे । नेइमारले ३३ औँ मिनेटमा गोल गरेर पीएसजीलाई ४-० ले अघि राखे ।

एक पक्षीय बनेको खेलको दोस्रो हाफमा एम्बाप्पेले थप दुई गोल गर्दा कार्लोस सोलेरले अर्को गोल गरे ।

फ्रान्सेली स्टार एम्बाप्पे योसँगै जारी सिजन गोलको संख्या २३ पुर्‍याएका छन् । कतार विश्वकप फाइनलमा अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गरेपछिको ६ मध्ये एम्बाप्पेले चारमा गोल गरेका छन् । पीएसजीका लागि एकै खेलमा पाँच गोल गर्ने उनी पहिलो खेलाडी हुन् ।

गएराति एम्बाप्पे र नेइमार पुरै खेल खेल्दा अर्जेन्टिनी विश्वविजेता लियोनल मेस्सीलाई भने विश्राम दिइएको थियो । अब कीर्तिमानी १४ औँ पटक फ्रेन्च कपको उपाधि उचाल्ने लक्ष्यमा रहेको पीएसजीले लिग वान प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्नेछ ।

    सम्बन्धित समाचार...