८ बैशाख २०८१, शनिबार

गण्डकी प्रदेशमा अब ७ मन्त्रालय

Gandaki Chief minister office

गण्डकी प्रदेश सरकारले मन्त्रालयको संख्या सात वटामा सीमित गरेको छ । यसअघि १२ मन्त्रालय रहेकामा घटाएर सात वटामा सीमित गर्ने निर्णय प्रदेश सरकारले गरेको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सत्तारुढ दलका शीर्ष नेताहरूसँगको छलफलपछि मन्त्रालयको संख्या घटाएका हुन् । नियुक्ति भएकै दिन उनले मन्त्रालयको संख्या घटाउने घोषणा गरेका थिए । मुख्यमन्त्री निवासमा बसेको सत्ता गठबन्धनको बैठकमा मन्त्रालयको संख्या घटाउने सहमति भएको थियो ।

मन्त्रालय कुन-कुन बनाउने भन्ने टुंगो लागिनसकेको विनाविभागीयमन्त्री पञ्चराम गुरुङले बताए । मुख्यमन्त्री नियुक्त भएपछि अधिकारीले तीन विनाविभागीय मन्त्री नियुक्त गरेका थिए ।

अहिलेसम्म उनीहरुलाई जिम्मेवारी तोकिएको छैन । मन्त्रालय बाँडफाँडको टुंगो लागेपछि मात्र मन्त्रीलाई जिम्मेवारी दिइने सरकारका प्रवक्ता सीता सुन्दासले जानकारी दिइन् ।

    सम्बन्धित समाचार...