१५ चैत्र २०८०, बिहीबार

चुलियो कांग्रेसभित्र असन्तुष्टि !

deuba sekhar
फाइल फोटो

प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको विषयमा नेपाली कांग्रेसभित्र असन्तुष्टि चर्किएको छ । नेतृत्वले यसबारे गलत निर्णय लिएको भन्दै सांसदहरुले मत तत्काल फिर्ता लिनसमेत माग गरेका छन् ।

काठमाडौंको बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा आइतबार भएको नेता शेखर कोइराला समूहको भेलामा बोलेका अधिकांश नेताहरुले प्रधानमन्त्रीलाई दिएको विश्वासको मतका विषयमा धारणा राखेका थिए । उपसभामुख उम्मेदवार मुक्ताकुमारी यादवले त प्रधानमन्त्रीलाई दिएको विश्वासको मत नै फिर्ता लिनुपर्ने माग राखेकी थिइन् । सहकार्य र गठबन्धन तोड्नेलाई विश्वासको मत दिएर गलत काम भएको नेताहरुको भनाइ थियो ।

कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गर्दा दुवै महामन्त्रीसहित ५ नेताले नोट अफ डिसेन्ट लेखेका थिए । तर सदनमा भने सबैले प्रधानमन्त्री दाहाललाई मत दिए । सरकारलाई विश्वासको मत दिँदा सभामुख वा राष्ट्रपतिमध्ये एक पद आफ्नो पक्षमा आउने भन्दै सभापति शेरबहादुर देउवाले निर्णय गराएका थिए । निर्वाचनमा कांग्रेस सबैभन्दा ठूलो दल भएर पनि राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुखजस्ता महत्त्वपूर्ण पद गुमाउनु परेको भन्दै नेतृत्वप्रति असन्तुष्टि छ ।

पुस १५ गते बस्ने केन्द्रीय समिति बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि आजको भेलामा छलफल भएको थियो । बैठक मंगलबार पुनः बस्ने बताइएको छ ।