११ बैशाख २०८१, मंगलवार

सुनकोसी–मरिण डाइभर्सन सुरुङ: तीन महिनामा दुई किलोमिटर

sunkoshai

राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ दुई किलोमिटरभन्दा बढी निर्माण गरिएको छ ।

टनेल बोरिङ मेसिन (टीबीएम)बाट सुरुङ खन्न सुरु गरिएपछि बुधबारसम्म दुई किलोमिटर ३०७ मिटर सुरुङ निर्माण गरिएको उक्त आयोजनाले जनाएको छ । आयोजना प्रमुख मित्र बरालका अनुसार १३ दशमलव तीन किलोमिटर लामो सुरुङ असोज २८ गतेदेखि कमलामाई नगरपालिका–२, कुसुमटारबाट खन्न सुरु गरिएको थियो ।

मासिक रूपमा कम्तीमा पनि पाँच सय मिटर सुरुङ निर्माण गर्ने लक्ष्य रहेकामा अहिले लक्ष्यभन्दा ८०७ मिटर बढी निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । टनेल बोरिङ मेसिनबाट सुरुङ निर्माण कार्य चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक)ले गरिरहेको छ ।

आयोजना प्रमुख बरालले भने, “सुरुङ निर्माणको प्रगति लक्ष्यभन्दा बढी भएको छ । सुरुङ खन्ने क्रममा दुई हजार ११२ मिटरभित्र पुगेपछि केही भौगर्भिक (जियोलोजिकल) समस्या देखिएकाले नौ दिनसम्म काम रोकियो । बाइपास टनेल निर्माण गरी त्यसलाई निकालेर अहिले पुनः काम भइरहेको छ ।” सुरुङ निर्माण गर्न चुरेमा सजिलो हुने र सानातिना समस्या त आइरहने उनको भनाइ छ ।

महाभारत क्षेत्रमा पुगेपछि भौगर्भिक समस्या आउन सक्ने आयोजनाले जनाएको छ । आयोजनाका अनुसार यही गतिमा सुरुङ निर्माण भएमा तोकिएको २२ महिनाको अवधिभन्दा अघि नै निर्माण सम्पन्न हुने अनुमान गरिएको छ । सुरुङ निर्माणले गति लिएसँगै भौतिक प्रगति बढ्दै जाने र सुनकोसीमा हेडवक्र्स निर्माणको ठेक्का सम्झौता गर्न तयारी भइरहेको आयोजना प्रमुख बरालले जानकारी दिए ।

अहिले दैनिक सरदर २५ मिटर र कुनै दिन ३८ मिटरसम्म सुरुङ निर्माण गरेको आयोजनाले जनाएको छ । आव २०७७/७८ देखि सुरु भएको आयोजना २०८४/८५ सम्ममा सक्ने लक्ष्य रहेको छ । आयोजनाको कुल लागत करिब ४६ अर्ब रुपियाँ रहने अनुमान गरिएको आयोजनाले जनाएको छ । गोरखापत्र दैनिकबाट

    सम्बन्धित समाचार...