१६ चैत्र २०८०, शुक्रबार

प्रतिनिधिसभाको सभामुख चयनका लागि आज मतदान, घिमिरे र न्यौपाने भिड्दै

Ghimireand Nyaupane

प्रतिनिधिसभाको सभामुख चयनका लागि आज मतदान हुँदैछ । सभामुखको निर्वाचनका लागि नयाँ बानेश्वस्थित संघीय संसद भवनमा बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ ।

सभामुखको निर्वाचनमा सत्ता गठबन्धनबाट साझा उम्मेदवार एमालेका देवराज घिमिरे र विपक्षी गठबन्धनबाट कांग्रेसकी ईश्वरी न्यौपानेबीच प्रतिस्पर्धा हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई संसदमा विश्वासको मत दिएको कांग्रेसले सभामुखमा भने प्रतिस्पर्धा गर्ने भएको छ ।

एमाले सांसद घिमिरेको प्रस्तावकमा सुवास नेम्वाङ बसेका छन् भने समर्थकमा माओवादीका हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङदेन छन् । एमालेसहित सत्ता गठबन्धनका नेताहरुले बुधबार दिउँसो १ बजेर ५ मिनेट जाँदा घिमिरेको उम्मदेवारी दर्ता गराएका थिए ।

झापाको अर्जुनधारा नगरपालिका ६ मा २०१३ जेठ १३ गते जन्मेका एमाले नेता घिमिरे झापा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । उनी नेकपा एमालेभित्र केपी ओलीका खरो विश्वासपात्रका रुपमा चिनिन्छिन् ।

सभामुख पदकी अर्की उम्मेदवार नेपाली कांग्रेसकी न्यौपाने कैलालीबाट समानुपातिक सांसद हुन् ।

न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, समर्थकमा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला र कांग्रेस सांसद रमेश लेखक छन् ।

आजको प्रतिनिधिसभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका छ । त्यसलगत्तै उम्मेदवारीको सूचनामाथिको सामूहिकरूपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गरिनेछ ।

पछिल्लो अंक गणितलाई हेर्दा सत्तापक्षसँग सुविधाजनक बहुमत छ । एमालेको ७९, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २० र राप्रपाको १४ मत जोड्दा एमाले उम्मेदवार घिमिरेले १४५ मत पाउने देखिन्छ । यसमा सत्ता गठबन्धन घटकमध्ये १२ सिट रहेको जनता समाजवादी, ६ सिटको जनमत पार्टी र ४ सिटको नागरिक उन्मुक्ति पार्टीले पनि एमाले उम्मेदवारलाई नै मतदान गरेमा २२ सिट थपिन गई घिमिरेका पक्षमा १६७ सिट पर्न जान्छ । तर, यी दलहरु मन्त्रिपरिषद गठनमा असन्तुष्ट देखिएकाले सभामुखको चुनावमा प्रस्टसँग खुलिसकेका छैनन् ।

कांग्रेसतर्फको मतको अवस्था हेर्दा न्यौपानेले आफ्नो पार्टीका ८९ मध्ये टेकबहादुर गुरुङबाहेक ८८ मत पाउनेछिन् । यसमा एकीकृत समाजवादीको १० भोट थप्दा ९८ हुनेछ भने यसमा लोसपाका ४ सांसद थप्दा १०२ पुग्छ ।

एक–एक सिट रहेका जनमोर्चा र नेमकिपा विपक्षमै रहेकाले उनीहरुले या त चुनाव बहिस्कार गर्नेछन्, या कांग्रेसलाई नै मत दिनेछन् । त्यस्तै स्वतन्त्र सांसदसँग तीन मत छ । प्रभु साह, अमरेशकुमार सिंह र योगेन्द्र मण्डलले कसलाई भोट दिन्छन्, खुलिसकेको छैन ।

मन्त्रीमा नसमेटिएका उनीहरुले कांग्रेसलाई मत दिए भने यी सबै मत जोड्दा कांग्रेसको भागमा १०७ पुग्छ । जसपा, नागरिक उन्मुक्ति र जनमतको २२ सिट थप्दा पनि बहुमत पुग्दैन । अन्यथा, सत्तारुढ गठबन्धनबाटै सभामुख चयन हुने सम्भावना नै बढी देखिन्छ । सत्ता पक्षबाटै फ्लोर क्रस नभएसम्म साना दलको मात्रै सहाराले कांग्रेसले जित्ने सम्भावना देखिँदैन ।

सभामुखको निर्वाचनमा २७५ सदस्यले मतदान गर्छन् । यसमध्ये सभाध्यक्षको हैसियतमा ज्येष्ठ सदस्य पशुपति समशेर जबराले मतदान गर्दैनन् भने कांग्रेस टेकबहादुर गुरुङ निलम्बनमा परेकाले मतदान गर्न पाउँदैनन् ।

महोत्तरीका एमाले सांसद लक्ष्मी महतो कोइरी प्रहरीको खोजी सूचीमा रहे पनि मतदान गर्न पाउँछन् । माओवादी सांसद वर्षमान पुनः अस्पताल भर्ना भएकाले मतदान गर्न सक्ने अवस्थामा छैनन् । यो आधारमा विश्लेषण गर्दा सत्ता गठबन्धनको तर्फबाट दुई मत कम पर्ने सम्भावना छ भने विपक्षमा एक भोट अयोग्य छ । बाँकी २७२ मत सभामुखमा खस्न सक्छ, जसबाट बहुमत अर्थात् १३७ मत प्राप्त गर्ने व्यक्ति सभामुखमा विजयी हुन्छ ।

संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गरिने संवैधानिक व्यवस्था छ ।

को हुन् घिमिरे ?

ताप्लेजुङको सिरिजंघामा जन्मिएका ६६ वर्षीय घिमिरेको राजनीतिक यात्रा २०३२ सालबाट सुरु भएको हो। एमालेभित्र अन्तर विरोध र गुटगत राजनीतिमा सधैं अध्यक्ष ओलीकै पक्षमा खुल्दै आएका घिमिरेले २०३५ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका हुन् ।

एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य भएका उनी एमाले र माओवादी मिलेर बनेको नेकपामा प्रदेश १ का अध्यक्ष थिए । एमालेको दशौं महाधिवेशनपछि पार्टीको स्थायी समिति सदस्य बनेका घिमिरेको संसदीय राजनीति २०५६ सालमा राष्ट्रियसभाबाट अघि बढेको हो । घिमिरे २०५६ सालमा राष्ट्रिय सभाका सदस्य थिए ।

तत्कालीन महाकाली सन्धी प्रकरणमा एमालेभित्र तिव्र विवाद हुँदा अध्यक्ष मनमोहन अधिकारी मतदानमा सरिक नभएपछि उनका तर्फबाट भोट हालेर पक्षमा बहुमत पुर्याउने यिनै घिमिरे हुन् ।

को हुन् न्यौपाने ?

कैलाली, भजनीकी न्यौपानेले राजनीतिक यात्रा नेपाल विधार्थी संघ र पछि महिला संघ हुँदै अघि बढाएकी हुन् । २०५८ सालमा नेपाल महिला संघको अधिवेशनबाट केन्द्रीय सदस्य चुनिएकी उनले त्यही कार्यकालमा उपसभापतिको जिम्मेवारी सम्हालिन् ।

नेपाली कांग्रेसको १२ औं १३ औं र १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य बनेकी न्यौपाने पहिलो संविधानसभामा सदस्य थिइन् । दोस्रो संविधानसभामा नेपाली कांग्रेसको सचेतक बनेकी उनी २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभामा पराजित भइन् ।

    सम्बन्धित समाचार...