१३ बैशाख २०८१, बिहीबार

पदलाई प्रतिष्ठाको विषय बनाउँदा उपप्रधानमन्त्री संख्या चार पुग्यो

nepal ghatana

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारसँगै मन्त्रालयसमेत तोकेका छन् ।

सत्तारूढ गठबन्धन बैठकले मंगलबार राति मन्त्रालय भागबन्डा टुंगो लगाएसँगै मन्त्रिपरिषद् विस्तार गरिएको हो । तर, सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) ले मन्त्रिपरिषद् विस्तारप्रति असन्तुष्टि व्यक्त गर्दै सरकारमा गएको छैन । सरकारलाई समर्थन गरेको जनमत पार्टीका मन्त्री भने ‘आफूले भनेजस्तै मन्त्रालय नपाएको’ भन्दै कार्यभार सम्हाल्न मन्त्रालय नै गएका छैनन् ।

नवनियुक्त उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिए । यसअघि नियुक्त केही मन्त्री विनाविभागीय हैसियतमा थिए ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा बुधबार आयोजित विशेष समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएकी थिइन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सिफारिसमा मन्त्री नियुक्त भएकाले पद तथा गोपनीयताको शपथ लिएका छन् । मन्त्रिपरिषद्मा नेकपा एमालेबाट आठ, नेकपा माओवादी केन्द्रबाट ६, राष्ट्रिय स्वतन्त्र पार्टीबाट चार, राप्रपाबाट चार र जनमत पार्टीबाट एक जना छन् ।

– पदलाई प्रतिष्ठाको विषय बनाउँदा उपप्रधानमन्त्री संख्या चार पुग्यो

– उपप्रधानमन्त्रीको तलब ७७ हजार ६४० र मन्त्रीको तलब ७२ हजार ७३० रुपैयाँ

– प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् संख्या २५ हुने संवैधानिक व्यवस्था भए पनि ‘उपप्रधानमन्त्री कति हुने ?’ भन्ने खुलाइएको छैन ।

– सेवा सुविधाका हिसाबले उपप्रधानमन्त्री राख्दा केही व्ययभार पनि बढ्छ । तर, नेताहरूले पदलाई प्रतिष्ठा बनाउँदा मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री संख्या बढेको हो

– जसपा र जनमत असन्तुष्ट

गत १० पुसमा प्रधानमन्त्रीमा नियुक्त प्रचण्डले ११ पुसमा पद तथा गोपनीयताको शपथ लिएका थिए । सोही दिन उपप्रधानमन्त्री एवं अर्थमन्त्रीमा विष्णु पौडेल, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवं गृहमन्त्रीमा रवि लामिछानेले पद तथा गोपनीयताको शपथ लिए । एमालेका चार र जनमत पार्टीका अब्दुल खानले पनि सोही दिन मन्त्री पदको शपथ लिएका थिए । प्रतिनिधिसभाबाट २६ पुसमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गरेका हुन् ।

कुन दलबाट को ?
एमालेबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्रीमा पौडेल, कृषि तथा पशुपंक्षी विकासमन्त्रीमा ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमा राजेन्द्रकुमार राई, परराष्ट्रमन्त्रीमा डा. विमला राई पौड्याल, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा पदम गिरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा भगवती चौधरी र रक्षामन्त्रीमा हरिप्रसाद उप्रेती छन् ।

नेकपा माओवादी केन्द्रबाट प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा नारायणकाजी श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा रेखा शर्मा, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा सुदन किराती र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा अमनलाल मोदी छन्् । सुशीला सिर्पाली ठकुरी पर्यटन राज्यमन्त्री बनेकी छन्् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा डा. तोसिमा कार्की रहेका छन्् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उपप्रधानमन्त्रीसहित ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा दीपकबहादुर सिंह छन् ।

त्यस्तै, जनमत पार्टीबाट खानेपानीमन्त्री अब्दुल खान रहेका छन्् । जनमत पार्टीले यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मागेको थियो तर सो मन्त्रालय एमालेका भण्डारीले पाए । वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय भने प्रधानमन्त्री प्रचण्डले आफैंसँग राखेका छन्् ।

यो समाचार आजको राजधानी दैनिकमा रहेको छ।

    सम्बन्धित समाचार...