१३ बैशाख २०८१, बिहीबार

पाँच दिनलाई चितवनको माडी नगर क्षेत्र सिल

maadi municipality

पाँच दिनसम्मका लागि चितवनको माडी नगरपालिका सिल गरिएको छ ।

माडीमा पहिलोपटक सोमबार छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनीहरु भारतबाट आएर सोमेश्वर माविको क्वारेन्टिनमा रहेका थिए । उनीहरु हाल भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचाररत छन् ।

बुधबार बसेको नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले आज(बिहीबार)देखि लागू हुने गरी पाँच दिनसम्मका लागि नगरलाई नै सिल गर्ने निर्णय गरेको हो ।

माडी नगरपालिकामा नै सङ्क्रमित देखापरेपछि यो निर्णय लागु गरिएको जनाइएको छ । समितिको निर्णयअनुसार माडीभित्र कुनै पनि बहानामा मोटरसाइकल, अटो, टेम्पोलगायत सवारी साधन चलाउन पूर्णरूपमा रोक लगाइएको छ।

यस्तै अत्यावश्यकीय सेवा प्रदान गर्ने संस्था तथा पसलबाहेक अन्य सङ्घसंस्था तथा पसल पूर्णरूपमा बन्द गराउने निर्णय भएको छ । अति आवश्यक कामले घर बाहिर निस्कनुपरेमा सुरक्षाकर्मीलाई जानकारी गराउनु पर्ने, सामाजिक दूरी कायम गर्दै मास्कको प्रयोग अनिवार्यरूपमा गर्नुपर्ने छ । सङ्घसंस्था तथा पसलमा हात धुने व्यवस्था र सामाजिक दूरी कायम गर्ने-गराउने निर्णय भएको छ ।

नगरप्रमुख ढकालले स्वास्थ्यसम्बन्धी कुनै समस्या भएमा नजिकको स्वास्थ्य संस्था वा बघौडा अस्पतालमा सम्पर्क गर्ने निर्णय गरिएको बताए ।