७ बैशाख २०८१, शुक्रबार

यस वर्ष एसईई परीक्षा नलिने सरकारको निर्णय, आन्तरिक मूल्यांकनबाटै नतिजा

see

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ ।

सरकारले कोरोनाभाइरस कारण सिर्जित परिस्थितिका कारण यसवर्षको एसईई परीक्षा सञ्चालन नगर्ने भएको छ ।  बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यसवर्ष  कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा निकाल्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । 

मन्त्रिपरिषद बैठकले विद्यालयको आन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो ।

स्रोतका अनुसार शिक्षा मन्त्रालयले आन्तरिक मूल्याङ्कन, प्रदेशगतरुपमा परीक्षा लिने वा विद्यमान कानूनलाई संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको एसइई परीक्षा लिनेजस्ता विकल्प पेश गरेको थियो । तर विद्यालयहरूमा क्वारेन्टिन स्थल बनाएकाले तत्काल परीक्षा सम्भव छैन ।

अब विद्यालयहरूले आन्तरिम मूल्यांकनको नम्बर परीक्षा बोर्डमा पठाउनेछन् र, त्यसकै आधारमा ग्रेड निर्धारण गरेर परीक्षाफल सार्वजनिक हुने बताइएको छ ।

गत चैत ६ गते हुने कक्षा १० को एसइई परीक्षा कोरोना जोखिमका कारण गत चैत ५ गतेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगित भएको थियो ।