७ जेष्ठ २०८१, सोमबार

विमान दुर्घटनाको शोकमा आज बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने

Bida

पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति शोक व्यक्त गर्दै सरकारले आज (सोमबार) देशभर बिदा दिएको छ ।

दुर्घटनाको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइने गृह मन्त्रालयले जानकारी दिएको छ ।

विमान दुर्घटना लगत्तै आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आज (माघ २ गते) शोक बिदा दिनुका साथै राष्ट्रिय झण्डा आधा झुकाउने तथा अत्यावश्यकबाहेकका सेवा र कार्यक्रम स्थगित गरिएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

आइतबारको मन्त्रिपरिषद् बैठकले विमान दुर्घटनाको छानविन गर्न पाँच सदस्यीय जाँचबुझ आयोग पनि गठन गरिसकेको छ ।

विमान दुर्घटनाको शोकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने अध्यक्ष रहेको भूकम्प सुरक्षा दिवस मूल समारोह समितिले आज मनाउन लागेको २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको कार्यक्रम पनि स्थगित गरेको मन्त्रालयले जानकारी दिएको छ ।

आइतबार बिहान १० : ३२ बजे काठमाडौंबाट पोखराका लागि ६८ यात्रु र चार चालक दलका सदस्यसहित उडेको यती एयरको एआरटी ७२ विमान पोखरा महानगरपालिका १५ नयाँ गाउँस्थित सेती नदीको खोंचमा दुर्घटना भएको थियो ।

विमान दुर्घटनामा परेका ७२ जनामध्ये हालसम्म ६८ जनाको शव भेटिएको छ भने चार जनाको अवस्था थाहा हुन सकेको छैन । उनीहरुको खोजीका लागि आज बिहानैदेखि उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यती एयरलाइन्सको आज देशभरको उडान रद्द

दुर्घटनाको शोकमा यती एयरलाइन्सले सोमबारका लागि तय भएका सम्पूर्ण उडान स्थगित गरेको छ ।

विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा सोमबार कम्पनीका तर्फबाट देशभरको उडान रद्द गरिएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

    सम्बन्धित समाचार...