
यति एयरलाइन्सको विमान दुर्घटना भएपछि अवस्था बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।
विमान दुर्घटनाबारे जानकारी लिन तथा उद्धारको निरीक्षण गर्न प्रधानमन्त्री र गृहमन्त्री विमानस्थलको कन्ट्रोल रुममा पुगेका हुन् । उनीहरुले दुर्घटनास्थलको उद्धार कार्य कन्ट्रोल रुमबाटै हेरेका छन्।
विमान दुर्घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्थापना गरिएको ‘रेस्क्यु कोअर्डिनेसन सेन्टर’ पुगेर प्रधानमन्त्री दाहालले विमान दुर्घटनामा परेकाको उद्दारमा कुनै कमजोरी नगर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महानिर्देशक प्रेमनाथ ठाकुरले विमान दुर्घटनामा संलग्न सुरक्षा निकायका अधिकारी र कर्मचारी उद्दारकर्ताहरूलाई कुनै पनि कमजोरी र ढिलाइ नगर्न प्रधानमन्त्री दाहालले भनेका थिए । ‘रेस्क्यु कार्य चलिरहेको छ । केही शव निकालिसकेको अवस्था छ । खोँचमा भएकाले उद्दार कार्यमा कठिनाइ भइरहेको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्दार कार्य गरिरहेको छ,’ ठाकुरले भने, ‘प्रधानमन्त्री र गृहमन्त्रीले रेस्क्यु कोअर्डिनेसन सेन्टरमा आएर उद्दारमा के भइरहेको छ भन्ने हेर्नुभएको छ । उद्दारमा को को संलग्न छन् भन्ने पनि बुझ्नुभएको छ । प्रधानमन्त्रीले उद्दारमा अलिकति पनि कमजोरी नहोस् भन्नुभएको छ ।’
दुर्घटनामा परेर जिवित रहेकाहरूलाई तत्काल अस्पताल पुर्याउन पनि प्रधानमन्त्रीले निर्देशन दिएका थिए । प्रधानमन्त्रीले दुर्घटनामा परेकाको विस्तृत विवरण बेलाबेला आफूलाई दिन निर्देशन दिएको पनि ठाकुरले बताए ।
काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर ७२ विमान दुर्घटना भएकोमा दु:ख व्यक्त गर्दै प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
दुर्घटनाप्रति दाहालले दु:ख व्यक्त गर्दै प्रभावकारी उद्धारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन्।
आइतबार बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको यतिको विमान पोखराको नयाँ गाउँस्थित दुर्घटना भएको हो । उक्त विमानमा ६८ यात्रु र चार चालक दलका सदस्यसहित ७२ जना सवार थिए। दुर्घटनास्थलमा अहिले पनि उद्धार कार्य जारी रहेको छ ।
प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्को आकस्मिक बैठकसमेत बोलाएका छन् ।
