१ जेष्ठ २०८१, मंगलवार

अमेरिका, बेलायत र जापानसम्म पुग्छन् टोखामा उत्पादन हुने चाकु

chaku

माघे संक्रान्तिका दिन खाइने चाकुका लागि काठमाडौंको टोखा देशभरमै प्रख्यात छ । यहाँ उत्पादित चाकु स्वादिष्ट हुने भएकाले अमेरिका, बेलायत, जापानसम्म पुग्छन् । तर यस्तो चाकु भारतबाट ल्याइएको सखरबाट बन्छन् । टोखामै उखु खेती गरेर बनाइएको सखरबाट चाकु बनाउने परम्परा भने लोप भइसकेको छ ।

टोखाका एक दर्जनभन्दा बढी उद्योगीलाई यतिखेर चाकु बनाउन भ्याइनभ्याइ छ । सबैभन्दा पहिले सखरलाई करिब एक घण्टा पकाईन्छ । भाँडोबाट निकालेर झोललाई चिस्याएपछि सुरुमा मेसिनले र त्यसपछि हातले फिटेर चकलेट रंगको बनाइन्छ । त्यसपछि चाकु, लड्डु पुष्टकारीलगायत परिकार बनाइन्छ ।

एउटा चाकु उद्योगले कम्तीमा ३ हजार बोरा सखरको चाकु बनाइ बिक्री गर्ने गरेका छन् । अर्थात् एउटा उद्योगले १ करोड बराबरको सखरबाट चाकु बनाउने गरेका छन् । यसरी बनाइको चाकु प्रतिकिलो १ सय ४० रुपैयाँका दरले बिक्री हुने गरेको छ । खुवा मिसिएको चाकु प्रतिप्याकेट एक सय ७० र तिलौरा र लड्डुको प्रतिप्याकेट ७० रुपैयाँ पर्छ । जाडो याममा चाकु खाँदा शरीर न्यानो राख्ने र आवश्यक पर्ने पौष्टिक तत्त्व प्राप्त हुने भएकाले टोखाको चाकु किन्न भीड नै लाग्ने गरेको छ ।

दुई महिनामा एउटा उद्योगले दुई करोड हाराहारीमा चाकु र त्यसबाट बनेका अन्य परिकारको बिक्री वितरण गर्ने गरेको उद्योगीहरू बताउँछन् ।

परम्परागत शैलीमा बनाइएका चाकु स्वदेश तथा विदेशसम्म पुगेका छन् । तर, यस्ता चाकु उद्योगको प्रवर्द्धन र ब्रान्डिङका लागि ध्यान दिन नसक्दा पुस्तैनी पेसाका रूपमा मात्र सीमित छन् ।