१३ बैशाख २०८१, बिहीबार

बैंकहरू स्वनियमनमा बस्नुपर्छ : गभर्नर अधिकारी

mahaparsad
फाइल फोटो

गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुको मर्जरले वित्तीय मध्यस्थता लागत घट्दै गएको बताएका छन् ।

ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार सुरु भएको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले बैंक, वित्तीय संस्थाहरु मर्जर हुनुले वित्तीय प्रणाली थप सुरक्षित र संस्थाहरु स्वस्थ र सबल बन्ने बताए ।

उनले बैंकहरुको लगानी अब राष्ट्रिय उत्पादनमा बढी प्राथमिकता हुनुपर्ने बताए । बैंकहरूले मर्जरले ठूलो बन्दै गएपछि बैंकहरू स्वनियमनमा बस्नुपर्ने उनको भनाइ छ । उनले बैंक तथा वित्तीय संस्थाहरुले सानो कर्जालाई प्राथमिकता दिनुपर्ने पनि बताए ।

उनले भने, ‘सिस्टम र अर्थतन्त्रले खोजिरहेको विषय बैंक, वित्तीय संस्थाहरु मर्जर भइराख्दा हाम्रो वित्तीय प्रणाली थप सुरक्षित हुनेछ । संस्थाहरु थप स्वस्थ हुनेछन् । थप सबल हुनेछन् । अर्थतन्त्रमा बैंकिङ प्रणालीको इन्डिभिजुअल बैंकको पनि योगदान बढेर जानेछ भन्ने अपेक्षासहित यो पोलिसी ल्याएको हो ।’

उनका अनुसार यो वर्ष मात्र १४ वटा बैंक मात्रै मर्जर भएको अवस्था छ । ‘मर्जरमा राम्रो उपलब्धि भएको छ । बैंकहरु ठूला र संस्थाहरु मर्जर भइराख्दा बैंक वित्तीय संस्था आफैंमा सेल्फ रेगुलेसनमा पनि जानुपर्ने, आफ्नै नियमन बढाउनुपर्ने, बैंकसँग भएको रिसोर्सलाई धेरै भन्दा धेरै उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्ने राष्ट्र बैंकले एक खालको नियम ल्याएको छ,’ उनले भने, ‘त्यो नियमभन्दा पनि आफैँ प्रोएक्टिभ्ली राष्ट्रिय उत्पादनमा बढी लाग्नुपर्ने हाम्रो रिसोर्स परिचालनमा त्यो आवश्यक्ता हामीले देखेका छौँ । बैंक वित्तीय संस्थाहरुले सानो कर्जालाई प्रमोट गर्नुपर्छ ।’

गभर्नर अधिकारीले बैंक मर्जरमा यस वर्ष राम्रो उपलब्धि भइरहेको पनि बताए । वित्तीय साक्षरतासँगसँगै वित्तीय कारोबार बढ्ने अपेक्षा धेरै बैंक हुँदा गरिए पनि त्यो पूरा नहुँदा राष्ट्र बैंकले मर्जरको नीति लिनुपरेको स्पष्ट पारे ।

    सम्बन्धित समाचार...