८ बैशाख २०८१, शनिबार

साेरुका जेष्ठ नागरिकले ६ महिनापछि पाए सामाजिक सुरक्षा भत्ता

money

सोरु गाउँपालिकाले करिब ६ महिनापछि सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिकाले रकम निकासा गरी ज्येष्ठ नागरिकको बैंक खातामा जम्मा गर्ने थालेकाे हाे ।

चौमासिक रुपमा सामाजिक सुरक्षा भत्ता निकासा गरी ज्येष्ठ नागरिकको बैंक खातामा जम्मा गर्नुपर्ने भए पनि पालिकामा लेखापाल नहुँदा ६ महिनापछि भत्ता वितरण गर्नुपरेकाे गाउँपालिकाले जनाएकाे छ । 

निर्धारित समयमै ज्येष्ठ नागरिकले भत्ता नपाउँदा औषधि उपचार, न्यानो कपाडा र पोसिलो खाना किन्न तथा जुत्ताचप्पल खरिद गर्नबाट बञ्चित हुने गरेको ज्येष्ठ नागरिकको गुनासो रहेको छ । 

पालिकामा लेखापाल नहुँदा चौमासिक रुपमा सामाजिक सुरक्षा भत्ता निकासा गर्न नसकिएको सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले बताए । लेखापालका रुपमा जेठबहादुर बुढा आएपछि पालिकाको आर्थिक काम सुरु छ । 

वडा नं १ देखि ४ सम्मका ज्येष्ठ नागरिकको भत्ता निकासाको लागि कोष तथा लेखा नियन्त्रण कार्यालयमा पठाइसकिएको र बाँकी ६ वडाको ज्येष्ठ नागरिक भत्ता निकासा प्रक्रिया अघि बढाइएको गाउँपालिकाले जानकारी दिएकाे छ ।

पालिकामा कार्यरत लेखापाल जेठबहादुर बुढा गत फागुनमा सरुवा भएका थिए । तर यहाँ अरु लेखापाल जान नमान्दा वडादेखि पालिकास्तरको आर्थिक कामकाज प्रभावित भएको थियो । मंसिर अन्तिम साताबाट बुढाको काज फिर्ता भइ पुन: सोरु गाउँपालिकामा हाजिर भएपछि कामकाज अघि बढेकाे हाे ।

    सम्बन्धित समाचार...