१२ बैशाख २०८१, बुधबार

नेतन्याहू नेतृत्वको सरकारविरुद्ध इजरायलमा प्रदर्शन

Israile Protest

गत महिनामात्र सत्ता सम्हालेको बेन्जामिन नेतन्याहू नेतृत्वको सरकारविरुद्ध इजरायलमा प्रदर्शन भएको छ । नयाँ सरकार लोकतन्त्र र स्वतन्त्रताका लागि खतरा रहेको भन्दै इजरायली सहर तेल अभिभमा शनिबार हजारौँ प्रदर्शनकारी सडकमा उत्रिएका हुन् ।

नयाँ गठबन्धनले अघि सारेको न्यायिक सुधारको प्रस्तावले सर्वोच्च अदालतको शक्ति घटाउने भन्दै विरोध भएको हो । सरकारको यस कदमले नागरिक अधिकार कुण्ठित हुने र समय क्रममा धार्मिक राज्य स्थापित हुने प्रदर्शनकारीको दाबी छ ।

७३ वर्षीय प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले भ्रष्टाचारको मुद्दा खेपिरहेका छन् भने उनको गठबन्धनमा उग्र दक्षिणपन्थीहरू सामेल छन् । नेतन्याहूले भने नागरिक अधिकार हननको चासोलाई समाधान गर्ने र कूटनीतिक मामिलाको व्यवस्थापन सही ढंगबाट गरिनेमा आश्वस्त पारेका छन् ।

नेतन्याहु सरकारकै राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेनगभिरले हाल गरेको अल अक्सा मस्जिद भ्रमणलाई लिएर विवाद सिर्जना भएको थियो भने उनी एउटा यहुदी सशस्त्र समूहलाई समर्थन गरेकोमा दोषी पाइएका छन् ।