१३ बैशाख २०८१, बिहीबार

नेपाल टी-२० लिगको पहिलो क्वालिफायरमा लुम्बिनी र जनकपुर भिड्दै

Lumbini Vs Janakpur

नेपाल टी – २० लिगको पहिलो क्वालिफायरमा आज लुम्बिनी अलस्टार र जनकपुर रोयल्स खेल्दैछन् । जित हात पार्ने टिमले फाइनलमा स्थान बनाउने छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १२ : ३० बजेपछि खेल हुनेछ ।

दुवै टिम जित निकाल्दै सिँधै उपाधि भिडन्त पक्का गर्ने योजनामा छन् । लुम्बिनीले १० खेलमा ८ जित निकाल्दै शीर्ष स्थानमा रहेर क्वालिफायरमा स्थान बनाएको हो । जनकपुरले लिग चरणका १० खेलमा ७ जित निकालेको थियो ।

लिग चरणमा यी दुई टिमबीच भएको पहिलो खेलमा लुम्बिनी ५ रनले विजयी भएको थियो । लुम्बिनीका हरमित सिंहले ७३ रनको पारी खेलेका थिए ।

यस्तै आयरल्याण्डका ह्यारी ट्याक्टरको अलराउन्ड प्रदर्शन थियो । यी दुईबाहेक कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, अनिल साहलगायत खेलाडीको प्रदर्शन लुम्बिनीका लागि महत्वपूर्ण रहनेछ ।

दोस्रो खेलमा जनकपुरले लुम्बिनीविरुद्ध २३ रनको जित हात पारेको थियो । उक्त खेलमा ट्रेभोन ग्रिफिथको अलराउण्ड प्रदर्शन थियो ।

यसबाहेक खडक बोहोरा, सराफुदिन असरफहितका खेलाडी जनकपुरका लागि महत्वपूर्ण हुनेछन् ।

क्वालिफायर्समा जित निकाल्ने टिम सिँधै फाइनल पुग्ने छ भने पराजित टिमले फाइनल प्रवेशका लागि एलिमिनेटरको विजेतासँग खेल्नेछ । विराटनगर सुपर किंग्स र काठमाडौं नाइट्सबीच एलिमिनेटर खेल हुनेछ ।

    सम्बन्धित समाचार...