१३ बैशाख २०८१, बिहीबार

कर्णालीमा पनि मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्‌वान

karnali pradesh sava karnali pradesh

कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरिएको छ ।

कर्णाली प्रदेश प्रमुख तिलक परियारले पुस २७ गते बेलुका ५ बजेभित्र कर्णाली प्रदेशको मुख्यमन्त्रीको लागि दाबी पेस गर्न आह्वान गरेका छन् । प्रदेशसभामा संविधानको धारा १६८ उपधारा १ बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेकाले उपधारा २ बमोजिम बहुमत प्राप्त गर्नसक्ने गरी प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरिएको हो । ४० सदस्यीय कर्णाली प्रदेशसभामा पाँच दल र एक स्वतन्त्र सांसद सहभागी छन् ।

सहभागी दलहरूमध्ये कसैले पनि सरकार गठन गर्ने गरी बहुमत ल्याएका छैनन् । प्रदेशसभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद छन् । यस्तै, राप्रपा र नेकपा (एस) बाट एक/एकजना सांसद छन् ।

जुम्लाबाट एकजना स्वतन्त्र सांसद कर्णाली प्रदेशसभामा सहभागी छन् । केन्द्रको पछिल्लो सत्ता समीकरणअनुसार कर्णालीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको स्पष्ट बहुमत पुग्छ । बहुमत पुगे पनि कर्णाली प्रदेशमा नेकपा एमाले वा माओवादी केन्द्रले सरकारको नेतृत्व लिने भन्ने विषयमा अन्योलता छ । दुवै दलका मुख्यमन्त्रीका दाबेदार सांसदहरू केन्द्रीय नेतृत्वको निर्देशनको पर्खाइमा छन् ।