२ जेष्ठ २०८१, बुधबार

लुम्बिनी चिनी मिलमा प्रदूषण नियन्त्रण नगरेको भन्दै तालाबन्दी

lumbini sugar mill A gate 2

पश्चिम नवलपरासीको लुम्बिनी चिनी मिल सुनवलमा स्थानीय बासिन्दाले तालाबन्दी गरेका छन् । उद्योगको प्रदूषण नियन्त्रणमा उद्योग प्रशासनले चासो नदिएको भन्दै उद्योगवरपरका बासिन्दाले उद्योगको मूल गेटमा ताला लगाएपछि उद्योग बन्द भएको छ ।

पुरानो प्रविधिको उद्योग भएको र उखु क्रसिङ गर्दा खरानीसहितको कालो धुलोका कारण स्थानीय बासिन्दाले सास्ती खेप्दै आएका छन् । स्थानीय बासिन्दाले पटक-पटक उद्योगलाई प्रदूषण नियन्त्रण गर्न ध्यानाकर्षण गराए पनि उद्योगले अटेर गरेका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको स्थानीय जीवन पौडेलले बताए ।

उद्योग सञ्चालनका क्रममा इन्धनको रुपमा प्रयोग गरिने भुसबाट कालो धुलोका कण सुनवल क्षेत्रमा फैलने गरेको छ । समस्या समाधान नभएसम्म उद्योग नचलाउन स्थानीय बासिन्दाले उद्योग प्रशासनलाई चेतावनी दिएका छन् । उद्योगका व्यवस्थापक कुश सुवेदीले प्रदूषण नियन्त्रणको प्रयास भइरहेको र केही दिनभित्रमै नयाँ उपकरण जडान गरिने जनाए ।

    सम्बन्धित समाचार...