७ बैशाख २०८१, शुक्रबार

औपचारिक रुपमा अल नासरमा पुगे क्रिस्टियानो रोनाल्डो

ronaldo kit

पोर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डो औपचारिक रुपमा साउदी अरेबियन क्लब अल नासरमा सावर्जनिक भएका छन् ।

युरोपमा सबै खाले उपाधि उचालेपछि एसियामा आएको र चुनौतीको सामना गर्न तयार रहेको बताएका छन् । रोनाल्डोले आफूसँग युरोपेली क्लबको प्रस्ताव रहेपनि साउदी अरबको अल नासरसँग नै अनुबन्धित हुन चाहेको बताएका छन् ।

शुक्रबार फ्रि एजेन्टको रुपमा अल नासरसँग सम्झौता गरेका रोनाल्डोलाई मंगलबार राती क्लबले स्वागत गरेको थियो । रोनाल्डोले एसिया आउनु आफ्नो लागि सबैभन्दा ठूलो र महत्त्वपूर्ण निर्णय रहेको जनाए । अल नासरले आफूलाई युवा पुस्ता तथा महिला फुटबलको विकासका लागि मौका दिएको उनको भनाइ छ ।

रोनाल्डोको स्वागतका लागि क्लबले भव्य समारोह आयोजना गरेको थियो । झन्डै २५ हजार समर्थक अट्ने रंगशाला पूर्ण रुपमा भरिएको थियो भने रोनाल्डोले २० मिनेट समय मैदानमा बिताएका थिए । त्यसपछि उनले टोलीसँग प्रशिक्षण पनि गरे ।

३७ वर्षीय रोनाल्डोले आफ्नै देश पोर्चुगलदेखि युरोप, ब्राजिल अस्ट्रेलिया तथा अमेरिकाबाट पनि अवसर आएको तर अल नासर आउनुको अरु कारण पनि रहेको बताएका छन् ।

‘यसअघि कसैलाई थाहा थिएन । तर मलाई युरोप, ब्राजिल, अष्ट्रेलिया, अमेरिका र पोर्चुगलकै क्लबबाट पनि अनुबन्धनको प्रस्ताव आएको थियो । मलाई थुप्रै क्लबले भित्र्याउन खोजेका थिए । तर मैले अल नासरलाई वचन दिइसकेको थिएँ,’ रोनाल्डोले भने ।आफूमाथि भएको टिप्पणीप्रति खण्डन गर्दै उनले आफू विशेष खेलाडी रहेको र आलोचना हुनु सामान्य रहेको भनेका छन् ।

‘मैले युरोपको ठूला क्लबका लागि खेलें । सम्भव भएको सबै सफलता हासिल गरिसकें । अब एसियामा नयाँ चुनौतीको सामना गर्न आएको छु,’ उनले भने ।

रोनाल्डोले विश्व फुटबलकै सबैभन्दा ठूलो सम्झौता गरेका हुन् । उनले सन् २०२५ सम्म लागु हुने सम्झौतामा प्रति वर्ष झन्डै २ सय मिलियन युरो पाउनेछन् । त्यसपछि उनी फुटबल दुतको रुपमा साउदीकै सम्झौतामा रहने बुझिएको छ ।

रोनाल्डोले आफ्नो सम्झौता विशिष्ट रहनुमा आफू विशिष्ट खेलाडी रहेको बताए । उनले साउदी लिग प्रतिस्पर्धात्मक रहेको र अल नासरलाई जित दिलाउन आतुर रहेको पनि बताए । ‘मलाई थाहा छ लिग निकै प्रतिस्पर्धात्मक छ । मैले धेरै खेल पनि हेरें । म बुधबार खेल्न चाहन्छु, तर त्यसको लागि प्रशिक्षकको निर्णय अन्तिम हुनेछ । म लगातार फुटबल खेल्न र जित्न तयार छु,’ उनले भने ।

इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडबाट उनी फ्री एजेन्टमा साउदी आएका हुन् । गत साता मात्रै साउदी अरबियन प्रो लिग क्लब अल नासरले उनलाई दुइ सय मिलियन युरोमा भित्र्याएको हो । रोनाल्डोले २००९ देखि २०१८ स्पेनिस जायन्ट रियाल मड्रिडमा रहँदा दुइ स्पेनिस लिगको उपाधि, दुई स्पेनिस कप तथा चार च्याम्पियन्स लिग सहित एक क्लब विश्वकप जितेका थिए ।

यस्तै इटालियन लिग सिरियामा युभेन्टसबाट खेल्दा दुई सिरिया, एक कोपा इटालिया तथा इंग्लिस प्रिमियर लिगमा युनाइटेडबाट तीन लिग, एफए कप, दुई लिग कप, एक च्याम्पियन्स लिग र क्लब विश्वकप जितेका थिए ।

Ronaldo4 18578c50518 original ratio
ronaldo kit
cristiano ronaldo u19w5we1iok1vyxao1fjclu1
Ronaldo Al Nassr 1 1024x739 1
Ronaldo 1672811018