२२ बैशाख २०८२, सोमबार

सांसदको तलब कति ? यी हुन् उनीहरुले पाउने सुविधा !

Shapath2 1671694968

सांसदहरुले पाउने सेवा-सुविधा आमचासोको विषय बनेको छ । हाम्रा सांसद्हरुले कति तलब पाउँछन्, राज्यबाट के-के सुविधा पाउँछन् यो सर्वत्र चासो मानिन्छ ।

गत मंसिर ४ मा निर्वाचन सकिएसँगै नयाँ सरकार गठन भएको छ । निर्वाचनमा ठूलो बनेको दल नेपाली कांग्रेसलाई प्रतिपक्षमा राखेर नेकपा एमालेको नेतृत्वमा नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व गरेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएका छन् । साथै पहिलो चरणमा आठ सदस्यीय मन्त्रीमण्डल गठन भएको छ । पुस २५ गते दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ । अहिले प्रतिनिधिसभामा युवा सांसदहरुको उपस्थिति पनि बाक्लो छ । नयाँ दल नयाँ सांसदका कारण संसद्‌मा कस्तो रौनकता छाउला भन्ने कुतूहल आममानिसमा बढेकै छ । सांसदहरुले के-के सेवा, सुविधा पाउँछन् ? कस्तो सेवा, सुविधा हुन्छ, तलव बाहेक पनि अन्य सेवा सुविधा के पाउलान् भन्ने सबैको चासो छ । सांसदहरुको सेवा-सुविधाका विषयमा संघीय संसद् सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमला भन्छन् :

प्रतिनिधिसभा सदस्यको पारिश्रमिक र भत्ता

प्रतिनिधिसभा सदस्यले मासिक पारिश्रमिकका रुपमा ६६ हजार ७० रुपैयाँ पाउँछन् । त्यस्तै मासिक रुपमा विशेष भत्ता बापत एक हजार रुपैयाँ, सञ्चार सुविधाबापत तीन हजार रुपैयाँ र धारा, पानीको नाममा दुई हजार रुपैयाँ गरी मासिक रुपमा एकमुष्ट ७२ हजार ७० रुपैयाँ पाउँछन् ।

त्यस्तै आवास सुविधा भनेर काठमाडौं उपत्यकामा घर नहुने सांसदहरुले मासिक १८ हजार रुपैयाँ पाउनेछन् भने काठमाडौं उपत्यकामा घर हुनेहरुले नौ हजार रुपैयाँ मात्र पाउँछन् । सांसद निर्वाचित भएर आइसकेपछि एकपटकका लागि फर्निचरका लागि एकमुस्ट १५ हजार रुपैयाँ दिइन्छ । सांसदहरुले समिति र सभाको बैठकमा उपस्थिति भएपछि बैठक भत्ताबापत एक हजार रुपैयाँ र सभा तथा बैठकमा आवतजावतका लागि भनि थप एक हजार रुपैयाँ पाउनेछन् ।

थप सुविधाका रुपमा सांसदको दैनिक कामकाजमा सघाउने हेतुले सचिवालयमा राजपत्रांकित तृतीय श्रेणी सरहको स्वकीय सचिव नियुक्त गर्न दिनेछ । स्वकीय सचिवको सेवा-सुविधा स्वयं स्वकीयकै खातामा हालिदिने गरिएको छ । सांसदहरुले स्वदेशभित्र कुनै भ्रमण गर्नुपरे दैनिक भ्रमणभत्ता बापत दुई हजार पाँच सय रुपैयाँ पाउनेछन् । विदेश भ्रमण गर्नु परेमा प्रतिदिन २२५ डलर पाउनेछन् । त्यसैगरी देशको प्रतिनिधित्व गर्दै अथवा संसद्‌को कामको सिलसिलामा विदेश जानुपरे संसद सचिवालयको सिफारिसमा राहदानी विभागले कूटनीतिक राहदानी उपलब्ध गराउनेछ ।

त्यस्तै सांसदहरुले उपचार खर्च पनि पाउने गरेका छन् । कुनै रोगको सम्बन्धमा परामर्श लिनुपरे संघीय संसद् सचिवालयमा वरिष्ठ चिकित्सकले निःशुल्क परामर्श दिने व्यवस्था गरिएको छ । त्यस्तै अस्पताल भर्ना हुनुपरेको अवस्थामा सरकारी अस्पतालमा भर्ना भएमा बिलअनुसारको सबै रकम उपलब्ध गराउने र निजी अस्पतालमा भर्ना भएको भए बिलको आधा रकम पाउने गरेका छन् ।

सांसदहरुले पेस्की लिन चाहे कारण जनाएर पारिश्रमिक र आवास भत्ता बापतको रकम बढीमा तीन महिनासम्मको लिन सकिने व्यवस्था छ । विशेष परिस्थितिवश विदेशी अस्पतालमा उपचार गराउनुपर्ने अवस्था आएमा प्रतिनिधिसभा सदस्यलाई सभामुखको र राष्ट्रियसभा सदस्यलाई सभाका अध्यक्षको स्वीकृतिमा बढीमा एक वर्षसम्मको पारिश्रमिक र आवास भत्ताबापतको रकम पेस्की पाउने व्यवस्था छ ।