१२ बैशाख २०८१, बुधबार

प्रम दाहालद्वारा नेपाल र यादवसँग भेट, सरकारमा सहभागी हुन आग्रह

parchand
फाइल फोटो

प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका छन् । नेपाल र यादवलाई प्रधानमन्त्री दाहालले छुट्टाछुट्टै भेटेका हुन् ।

ललितपुरस्थित दाहालका एक नातेदारको घरमा उक्त भेटवार्ता भएको हो ।

भेटमा प्रधानमन्त्री दाहालले एकीकृत समाजवादी र जसपालाई पनि सरकारमा सहभागी हुन अनुरोध गरेको उनको सचिवालयले जनाएको छ ।

जसपा अध्यक्ष यादवले पार्टी संसदीय दलको नेता चयनपछि सरकारमा सहभागिताका बारेमा निर्णय गरिने जवाफ दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

एमालेलगायतका दलसँग गठबन्धन गरेर सरकारको नेतृत्व गरेको भन्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले असन्तुष्टि जनाउँदै आएका छन् । आफूसँग असन्तुष्ट नेपाललाई फकाएर सरकारमा सहभागी गराउन प्रधानमन्त्री दाहालले पहल थालेका हुन् ।

मन्त्रिपरिषद विस्तारको तयारीमा लागेका दाहालले एकीकृत समाजवादी र जसपालाई समेत सरकारमा समेट्ने प्रयास गरेका छन् ।