
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू-भागमा आंशिक बदली रहने जनाएको छ । महाशाखाकाअनुसार प्रदेश १ र गण्डकी प्रदेशको हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।
अहिले बिहान प्रदेश १, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भू-भागमा हुस्सु र कुहिरो लागेको छ । बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहेको महाशाखाले जनाएको छ ।
आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहनेछ। प्रदेश १ को हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै बुधबार दिउँसो प्रदेश १, मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने छ । प्रदेश १ को हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।
बिहीबार भने देशभर आंशिक बदलीको अवस्था रहने सम्भावना छ ।