७ असार २०८२, शनिबार

यस्तो छ मन्त्रिपरिषद बैठकको पहिलो निर्णय

321886568 691797145648205 139017944364859882 n.jpg

संघीय संसदको पहिलो बैठक पुसको तेस्रो साता बोलाउने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ ।

सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले पुस २९ अगावै संघीय संसदको बैठक बोलाउने निर्णय गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान गर्ने संवैधानिक प्रावधान छ ।

निर्वाचनको अन्तिम परिणााम आएको एक महिनाभित्रै संसद बैठक बोलाउनुपर्ने संवैधानिक प्रावधान छ । आगामी पुस २९ अगावै संसद बैठक बोलाउनुपर्ने हुन्छ ।

मन्त्रिपरिषदको पहिलो बैठकपछि सोमबार एक मन्त्रीले कान्तिपुर टेलिभिजनसँग भने ‘मिति तोकिएको छैन, तर पुस २५, २६ गतेतिर बैठक बोलाउने गरी प्रक्रिया अघि बढाउने निर्णय भएको छ ।’

पहिलो क्याबिनेट बैठकपछि सिंहदरबारमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले पनि संघीय संसदको अधिवेशन बोलाउने निर्णय लिएको जानकारी दिए ।

प्रधानमन्त्री दाहालले नेपालको जटिल र चुनौतीपूर्ण अर्थतन्त्रलाई सुधार्ने पहिलो काम भएको बताएका छन् । नयाँ सरकार गठन भएपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले यस्तो निर्णय गरेको प्रधानमन्त्री दाहालले बताएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकपछि दाहालले नेपालको अर्थतन्त्र जटिल भएकाले त्यसलाई सुधार्ने, प्रभावकारी उपायबाट समाधान गर्ने आफ्नो सरकारको मुख्य प्राथमिकतामा रहेको बताए । उनले अबको सरकारले सुशासन कायम गर्ने पनि बताए । प्रधानमन्त्री दाहालले राहदानी, लाइसेन्समा आमसर्वसाधारण जनताले खेप्नु परिरहेको समस्यालाई समाधान गर्नेकुरा पनि पहिलो प्राथमिकतामा रहेको बताए । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले चाँडै प्रतिनिधिसभाको बैठक बोलाउने निर्णय गरेको पनि बताए ।

प्रधानमन्त्री दाहालले गम्भीर रुपले देश र जनताका समस्याहरुको सम्बोधन गर्ने प्रतिबद्धता जनाए । ‘जनतामा आम रुपमा एउटा आशा र भरोसा बढेको देखिएको छ । हाम्रो देशको अघि थुप्रै जटिलता र चुनौती छन् । तर यो मन्त्रिपरिषद् जस्तो किसिमले बनेको छ र गएको निर्वाचनमा मतदान जस्तो प्रकृति देखियो, परिणाम जस्तो देखियो त्यसलाई समेटेको छ, यो मन्त्रिपरिषद्ले । एउटा आशा जगाएको छ,’ उनले भने, ‘हामीले आजको बैठकमा नेपालको अर्थतन्त्रको स्थिति जसरी जटिल र चुनौतीपूर्ण दिशातिर छ त्यसलाई सुधार्ने, प्रभावकारी उपायमा केन्द्रित भएर अघि बढ्ने कुरा । सुशासनतिर गम्भीर ढंगले अघि बढ्ने कुरा र जनताले ठाउँ ठाउँमा पाइराखेका सास्ती र दुःखलाई कम गराउनेबारे । जस्तो राहदानी, लाइसेन्ससम्बन्धी लामा लाइनमा देखेका छौँ, यसको प्रभावकारी सेवा दिने किसिममा केन्द्रित भएका छौँ । प्रतिनिधिसभाको बैठक बोलाउने निर्णय गरेका छौँ । हामीले गम्भीर रुपले देश र जनताका अघि रहेका समस्याहरुलाई सम्बोधन गर्न केन्द्रित हुनेछौँ ।’

प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्‌मा आएका सबैको नै केही नयाँ काम गर्ने हुटहुटीले गर्दा आफू स्वतन्त्र भएर देश र जनताको लागि काम गर्ने स्पष्ट पारे ।

दाहालले सोमबार अपराह्‌न राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री पदको शपथग्रहण गरेका थिए । प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्री विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछानेले पनि पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

आठ सदस्यीय मन्त्रिपरिषद्‌मा उपप्रधानमन्त्री एवं अर्थमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, नेकपा माओवादी केन्द्रबाट उपप्रधान एवं भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवं गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं सांसद रवि लामिछानेले शपथग्रहण गरेका थिए । त्यस्तै मन्त्रीहरु मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानले पनि मन्त्रीको पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

    सम्बन्धित समाचार...