
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको जटिल र चुनौतीपूर्ण अर्थतन्त्रलाई सुधार्ने पहिलो काम भएको बताएका छन् । नयाँ सरकार गठन भएपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले यस्तो निर्णय गरेको प्रधानमन्त्री दाहालले बताएका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकपछि दाहालले नेपालको अर्थतन्त्र जटिल भएकाले त्यसलाई सुधार्ने, प्रभावकारी उपायबाट समाधान गर्ने आफ्नो सरकारको मुख्य प्राथमिकतामा रहेको बताए । उनले अबको सरकारले सुशासन कायम गर्ने पनि बताए । प्रधानमन्त्री दाहालले राहदानी, लाइसेन्समा आमसर्वसाधारण जनताले खेप्नु परिरहेको समस्यालाई समाधान गर्नेकुरा पनि पहिलो प्राथमिकतामा रहेको बताए । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले चाँडै प्रतिनिधिसभाको बैठक बोलाउने निर्णय गरेको पनि बताए ।
प्रधानमन्त्री दाहालले गम्भीर रुपले देश र जनताका समस्याहरुको सम्बोधन गर्ने प्रतिबद्धता जनाए । ‘जनतामा आम रुपमा एउटा आशा र भरोसा बढेको देखिएको छ । हाम्रो देशको अघि थुप्रै जटिलता र चुनौती छन् । तर यो मन्त्रिपरिषद् जस्तो किसिमले बनेको छ र गएको निर्वाचनमा मतदान जस्तो प्रकृति देखियो, परिणाम जस्तो देखियो त्यसलाई समेटेको छ, यो मन्त्रिपरिषद्ले । एउटा आशा जगाएको छ,’ उनले भने, ‘हामीले आजको बैठकमा नेपालको अर्थतन्त्रको स्थिति जसरी जटिल र चुनौतीपूर्ण दिशातिर छ त्यसलाई सुधार्ने, प्रभावकारी उपायमा केन्द्रित भएर अघि बढ्ने कुरा । सुशासनतिर गम्भीर ढंगले अघि बढ्ने कुरा र जनताले ठाउँ ठाउँमा पाइराखेका सास्ती र दुःखलाई कम गराउनेबारे । जस्तो राहदानी, लाइसेन्ससम्बन्धी लामा लाइनमा देखेका छौँ, यसको प्रभावकारी सेवा दिने किसिममा केन्द्रित भएका छौँ । प्रतिनिधिसभाको बैठक बोलाउने निर्णय गरेका छौँ । हामीले गम्भीर रुपले देश र जनताका अघि रहेका समस्याहरुलाई सम्बोधन गर्न केन्द्रित हुनेछौँ ।’
प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्मा आएका सबैको नै केही नयाँ काम गर्ने हुटहुटीले गर्दा आफू स्वतन्त्र भएर देश र जनताको लागि काम गर्ने स्पष्ट पारे ।
दाहालले सोमबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री पदको शपथग्रहण गरेका थिए । प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्री विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछानेले पनि पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।
आठ सदस्यीय मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री एवं अर्थमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, नेकपा माओवादी केन्द्रबाट उपप्रधान एवं भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवं गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं सांसद रवि लामिछानेले शपथग्रहण गरेका थिए । त्यस्तै मन्त्रीहरु मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानले पनि मन्त्रीको पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।