१६ चैत्र २०८०, शुक्रबार

पूर्वसभामुख महरा रोल्पामा हलो जोत्दै गरेको भिडियो सार्वजनिक

krishna bahadur mahara

सत्तारुढ दल नेकपाका नेता तथा पूर्व सभामुख कृष्णबहादुर महरा एक भिडियोमा हलो जोत्दै गरेको देख्न सकिन्छ । कोरोना संक्रमण नफैलियोस् भन्दै सरकारले लगाएको लकडाउनका बेला आफ्नो पुर्खौली गाउँ रोल्पामा पुगेर उनि खेतिपातीमा लागेका छन् । महराले बारी जोत्दै गरेको एउटा भिडियो उनको छोराले आफ्नो फेसबुकमा राखेका हुन ।

खेतिपातीको मौसम शुरु हुने समय भएकाले उनी तीन दिन अगाडि रोल्पा पुगेको बताइएको छ । गृहजिल्ला पुगेर सामान्य व्यक्ति सरह उनले दैनिकी चलाइरहेका छन् ।

‘राजनीति गरेदेखि सधै बाहिरको बाहिरै रहनुपर्यो, आफ्नो बारी जोत्ने मौका नै मिलेको थिएन,’ उनले भने, ‘अहिले खेतिपातीको कामका लागि परिवारका सबै सदस्य आफ्नो पुर्खौली घर आएका छौं ।’

‘हामी जनताबाट चुनिएर गएका व्यक्तिहरु जनताभन्दा पटक्कै फरक होइनौं, जनताको जिवनशैली र हाम्रो जिवनशैलीमा फरक आउनुहुन्न भन्ने मेरो मान्यता हो,’ महराले भने, ‘जिम्मेवारी अनुसार जुनसुकै काम पनि गर्न सक्नुपर्छ, आवश्यक पर्दा नेताको भूमिकामा रहने फरक कुरा हो, तर हामी र जनताबीच फरक हुनुहुँदैन ।’

पारिवारिक स्रोतका अनुसार महरा बिहान र साँझ खेतीपातीमा व्यस्त हुन्छन् भने दिउँसो भेटघाट र छलफलमा बिताउँछन् । महराका ज्वाइँ पूर्ण केसीका अनुसार्, ‘उहाँ पहिलेदेखि नै कडा परिश्रम गर्ने मान्छे हुन्, अहिले पनि उस्तै काम गर्नुहुन्छ । जोत्ने, खन्ने, छर्ने सबै काम आउँछ उहाँलाई ।’ उनलाई जेठो छोरा एटमले सघाउने गरेको केसी बताउँछन् ।

कोरोना भाइरसका कारण विश्वको अर्थतन्त्र तहसनहस भइरहेको उल्लेख गर्दै पूर्व अर्थमन्त्री समेत रहेका महराले नेपालले कृषि उत्पादनलाई बढाउनुपर्नेमा जोड दिए। ‘हामी कृषिमा आत्मनिर्भर हुनैपर्छ, नेपाललाई परनिर्भरमुखी अर्थतन्त्रबाट आत्मनिर्भर बनाउने प्रमुख आधार भनेकै कृषि उत्पादन हो ।

सभामुखजस्तो उच्च ओहोदामा पुगिसकेको व्यक्ति पनि कृषि कर्ममा संलग्न हुनुलाई रोल्पाली जनताले सकारात्मक रुपमा लिएको मेयर केसीले बताउँछन्। ‘कोरोना भाइरसका कारण विश्वको अर्थतन्त्र तहसनहस भइरहेको बेला कृषि उत्पादनलाई बढाउन गरिने गतिविधिलाई हामी सबैले सकारात्मक रुपमा लिनुपर्छ,’ उनले भने ।