२१ बैशाख २०८२, आईतवार

नवनियुक्त प्रधानमन्त्री दाहाललाई भारत र चीनको बधाई

parchand

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाललाई छिमेकी मित्रराष्ट्रले बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् । प्रधानमन्त्री दाहाललाई काठमाडौंस्थित चिनियाँ र भारतीय राजदूतावासका तर्फबाट बधाई दिइएको हो ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाल आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन । प्रधानमन्त्रीका रूपमा माओवादी केन्द्रका अध्यक्ष दाहालले आज (सोमबार) पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ ।

नवनियुक्त प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्य किरण शर्माका अनुसार काठमाडौंस्थित चीनका कार्यवाहक राजदूत वाङ सिन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले टेलिफोनमार्फत बधाई दिएका हुन् ।

दुवै राजदूतले माओवादीका अध्यक्ष दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएकोमा बधाई दिँदै उनको कार्यकालमा दुई देशको सहकार्य र सम्बन्ध थप विस्तारित हुने बताएका थिए । चिनियाँ दूतावासका प्रवक्ताले पनि सामाजिक सञ्जाल ट्विटरमार्फत ‘नेपालको ४४औँ प्रधानमन्त्रीमा नियुक्त अध्यक्ष दाहाललाई बधाई’ भनिएको छ ।

भारतीय राजदूत श्रीवास्तवले पनि प्रधानमन्त्री दाहालको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप बलियो बनाउँदै उचाइमा पुर्‍याउने बताएका छन् ।

दाहाललाई मोदीले दिए बधाई

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिँदै मिलेर काम गर्न तत्पर रहेको बताएका छन् ।

मोदीले ट्वीट गर्दै प्रधानमन्त्री नियुक्त भएकोमा दाहाललाई बधाई दिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेको केही घण्टापछि ट्वीटमार्फत बधाई दिएका हुन् ।

भारत र नेपालबीचको विशेष सम्बन्ध, गहिरो सांस्कृतिक सम्बन्ध र जनता-जनताबीचको न्यानो सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै मोदीले यो मित्रतालाई अझ मजबुत बनाउन दाहालसँग मिलेर काम गर्न तत्पर रहेको बताएका छन् ।

मोदीले ट्वीटरमा लेखेका छन्, ‘नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई छ । भारत र नेपालबीचको अद्वितीय सम्बन्ध, गहिरो सांस्कृतिक सम्बन्ध र जनता–जनता बीचको न्यानो सम्बन्धमा आधारित छ । यो मित्रतालाई अझ मजबुत बनाउन म तपाईंसँग मिलेर काम गर्न तत्पर छु ।’