
नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीमा कुरा नमिलेपछि बालुवाटारबाट निस्किएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बालकोट पुगेका छन् ।
अध्यक्ष दाहाल पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङलाई लिएर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका हुन् । नेकपा विभाजनपछि दाहाल ओलीलाई भेट्न पहिलोपटक बालकोट पुगेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दलहरुलाई दिएको समयसीमा आइतबार साँझ ५ बजे सकिँदै छ । सरकार कसको नेतृत्वमा बनाउने भन्ने विषयमा बालुवाटारमा कांग्रेससँग सहमति नजुटेपछि माओवादी अध्यक्ष दाहाल एमालेसँग छलफल गर्न ओलीनिवास बालकोट पुगेका हुन् ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जनता समाजवादी पार्टीका नेता अशोक राई पनि बालकोट पुगेका छन् । ओलीसँग सरकार गठनकै विषयमा छलफल गर्न राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पनि पुगेका थिए । दाहाल, लामिछाने र राई बालकोट भित्रिएसँगै लिङ्देन भने बाहिरिएका छन् ।
ओलीनिवास बालकोटबाट बाहिरिँदै पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै लिङ्देनले भने, ‘धेरै भएको थियो ओलीजीसँग भेट नभएको, यसो चिया खाउँ भनेर आएको ।’