६ बैशाख २०८१, बिहीबार

कुनै हिच्किचाहट नगरि पाँचपटक प्रधानमन्त्री भइसकेको मान्छे अब साथीहलाई छोडिदिनुस् : महामन्त्री शर्मा

bishow prakash
फाइल फोटो

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदीय दलको प्रस्तावकका रुपमा आफूले हेर्न चाहेको बताएका छन् ।

काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आज हुने पार्टीको संसदीय दलको नेता चयनको उम्मेदवारीमा पार्टी सभापति देउवालाई प्रस्तावकका रुपमा देख्ने चाहेको पनि बताए । देशमा प्रधानमन्त्री भएर देउवाले धेरै राम्रा कामहरु गरे पनि पटकपटक प्रधानमन्त्री बनिरहेको भन्दै राम्रा कामको चर्चा हुन नसकेको शर्माले बताए । उनले देउवा प्रधानमन्त्री हुँदा मुक्त कमैया, दलित, महिला, जनजातिलगायत आयोगहरुको स्थापना हुन सम्भव रहेको बताए ।

महामन्त्री शर्माले प्रधानमन्त्री देउवासमक्ष आफ्ना राम्रा कामलाई जनतामाझ चिनाउन अबको संसदीय दलको नेतामा अर्को सदस्यलाई प्रस्तावक बनेर अघि सार्नुपर्ने आवश्यकता भएको बताए । उनले पार्टीको संसदीय नेतामा अर्को सहकर्मीलाई प्रस्तावित गर्नु नै देउवाका लागि सम्मानजनक बहिर्गमन हुने बताए ।

महामन्त्री शर्माले अहिले सबै प्रधानमन्त्री र राष्ट्रपतिका लागि लडिरहेको भन्दै देशलाई अभिभावकको खाँचो रहेको स्पष्ट पारे । उनले देशको अभिभावक बन्न कोही नलागेको आरोपसमेत लगाए । उनले संसदीय दलको नेताका लागि देउवाले अर्को सहकर्मीलाई कुनै हिच्किचाहट छाड्नेमा आफू विश्वस्त रहेको पनि बताए । उनले संसदीय दलको नेताको रुपमा आफूले पार्टीका महामन्त्री गगनकुमार थापालाई प्रस्तावित गर्नेमा विश्वस्त हुन आग्रह गरे ।

‘प्रधानमन्त्री शेरबहादुर देउवा जसले धेरै कर्महरु देशको लागि गर्नुभएको छ । उहाँले गरेका राम्रा कर्महरु धेरै छोपिएका छन् । कमैयाको मुक्ति भएर एउटा घरबाट बेचिएर अर्को घरमा जाने चलन अन्त्य भयो, दलित, महिला आयोगहरु उहाँकै नेतृत्वमा सुरु भएको हो,’ उनले भने, ‘उहाँले गरेको यी राम्रा कर्महरु बारम्बार प्रधानमन्त्री भइरहनेको नाममा छोपिएका छन् । यो बेला उहाँका सामुन्ने पनि के अवसर छ भने म ५ पटक प्रधानमन्त्री भइसकेँ, मसँगै यात्रा गरेको रामचन्द्र पौडेललाई एकपटक दिन्छु भन्न सक्नुपर्छ । उहाँको सम्मानजनक बहिर्गमन हुनेछ ।’

महामन्त्री शर्माले जनजातिबाट प्रकाशमान सिंह, प्रतिस्पर्धी डा. शेखर कोइराला, मधेसी प्रधानमन्त्री बनाउँछु भनेर विमलेन्द्र निधि, बीपीको छोरालाई दिन्छु भनेर शशांक कोइराला वा युवालाई प्रधानमन्त्री हुनुपर्छ भनेर गगन थापालाई अघि सारे देउवाले गरेर पनि छोपिएको राम्रा कामहरु माथि आउने दाबी गरे ।

‘प्रधानमन्त्री र राष्ट्रपतिको यो देशलाई जति खोजी छ, त्योभन्दा धेरै खोजी देशलाई अभिभावकको छ । सबै प्रधानमन्त्री र राष्ट्रपति बन्न लाग्नुभयो, अभिभावक बन्न कोही लाग्नुभएन । पार्टीको महामन्त्री छु, मन्त्री हुने हक म राख्छु तर मलाई अहिले पार्टीको काममा ध्यान दिन जरुरी छ,’ उनले भने, ‘हामीले त्याग गर्न सकेका छौँ भने पाँचपटक प्रधानमन्त्री भइसकेको मान्छे अब साथीहलाई छोडिदिन्छु भनेर कुनै हिच्किचाहट छोड्नुहुन्छ भन्ने मलाई लाग्छ । आज साँझ हुने उम्मेदवारी दर्तामा शेरबहादुर देउवाको नाम संसदीय दलको नेताको रुपमा होइन, संसदीय दलको कुनै अर्को नेतालाई प्रस्तावकका रुपमा हेर्न पाइनेछ । म संसदीय दलको नेतामा गगन थापालाई राखेर प्रस्तावक बन्न उभिनेछु ।’

महामन्त्री शर्माले नेकपा माओवादी केन्द्रले अहिले सत्ताको आकंक्षामा अर्को गठबन्धनको खोजी गर्ने कर्म गरिरहेको भन्दै जनताको मर्मविरुद्ध जान नहुने बताए । उनले गठबन्धनले विभिन्न आलोचनाहरुलाई चिरेर एउटा परिणाम ल्याएको भन्दै सत्ताको आकंक्षा र आग्रह, पूर्वाग्रहभन्दा माथि उठेर जानुपर्ने बताए । उनले अहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सरकारमा जानका लागि अर्को गठबन्धनमा जान लागेको कुरा सञ्चारमाध्यममा आए पनि कांग्रेसले शंकाका रुपमा नहेरेको बताए । उनले माओवादी केन्द्रले प्रतिगमनको क्षणलाई बिर्सिनु नहुने पनि बताए ।

‘मैले आफ्नै पार्टीको सभापति, माओवादीको अध्यक्ष, एकीकृत समाजवादीको अध्यक्षलाई पनि अपिल गर्नुछ कि चुनावमा जाँदा एउटा गठबन्धन बनाउने, चुनाव सकिएपछि सत्ताको आकांक्षाको जगमा अर्को गठबन्धनको खोजी गर्ने कर्म हामी कसैले गर्नु हुँदैन,’ उनले भने, ‘विभिन्न आलोचनालाई चिरेर गठबन्धनले एउटा परिणाम ल्याएको छ, त्यसैले सत्ताको आकांक्षा र आग्रह, पूर्वाग्रहभन्दा माथि उठेर जानुपर्छ । अध्यक्ष प्रचण्डलाई भन्दै गर्दा अहिले चर्चामा आएजस्तो अलग्गै रुपमा उभिनुहुन्छ कि भन्ने चर्चालाई हामी कुनै शंकाको रुपमा लिँदैनौँ । प्रतिगमनको क्षणलाई बिर्सिनु हुँदैन । पूरा ५ वर्ष एउटै प्रधानमन्त्रीले चलाउनु हुन्न हामीलाई थाहा छ । आलोपालोको विकल्प छैन ।’ महामन्त्री शर्माले विगतको भन्दा पृथक ढंगबाट सरकार चलाउन नसके आममानिसमा राजनीतिक दलहरुप्रतिको भरोसा सकिने स्पष्ट पारे ।