८ बैशाख २०८१, शनिबार

खोटाङमा डिजिटल स्वाइल ल्यावबाट माटो परिक्षण सुरु

313781910 5887957801243976 1688677047697248652 n.jpg

खोटाङमा डिजिटल स्वाइल ल्यावबाट माटोको उर्वराशक्ति परीक्षण सुरु गरिएको छ । हालसम्म किट बक्सबाट माटो परीक्षण गर्दैआएको कृषि ज्ञान केन्द्रले नवौं विश्व माटो दिवसको अवसरमा गत १७ मंसिरदेखि डिजिटल स्वाइल ल्यावबाट माटोको उर्वराशक्ति परीक्षण सुरु गरेको हो । 

किट बक्स विधिबाट रंगको आधारमा माटोमा भएको नाइट्रोजन, फस्फोरस, पोटास र पिएचको मात्रा मात्र जाँच गर्नेगरिएकामा डिजिटल स्वाइल ल्यावबाट नाइट्रोजन, फस्फोरस, पोटास, पिएचदेखि अर्गानिक कार्वन, जिंक, सल्फर, आइरन, कपर, म्याग्नेस र वोरनको मात्रा पनि पत्ता लाग्ने कृषि ज्ञान केन्द्र खोटाङका कृषि प्रशार अधिकृत सञ्जय पण्डितले बताए । 

कृषि ज्ञान केन्द्रले हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकाभित्रका किसानले ल्याएका माटोको नमुना परीक्षण गरिरहेको छ । डिजिटल स्वाइल टेस्टिङ मिनिल्याव ल्याएपछि ल्यावमार्फत माटोको उर्वराशक्ति परीक्षणको सेवा सुरु गरिएको हो । डिजिटल स्वाइल ल्यावबाट माटो परीक्षणका लागि सुनसरीको झुम्का पुग्नुपर्ने बाध्यता थियो । 

शिविर सञ्चालन गरेर किट बक्सबाट परीक्षण गर्दा रंगको आधारमा कम, मध्यम र अधिकमा माटोको वर्गीकरण गर्ने गरिएकामा डिजिटल स्वाइल ल्यावबाट भने अंकमै उर्वराशक्तीको मात्रा थाहा हुने कृषि प्रशार अधिकृत पण्डितले बताए । डिजिटल स्वाइल ल्यावबाट माटो परीक्षण गरेपछि माटोमा हाल्नुपर्ने मलखादको मात्राका बारेमा समेत थाहा हुने ज्ञान केन्द्रले जनाएको छ । 

माटोको उर्वराशक्ति परीक्षणका क्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका अधिकांश माटोमा अम्लीयपन र क्षारियपनका मात्रा अधिक देखिएको छ । माटोमा तटस्थपनको मात्रा अधिक हुनुपर्नेमा तटस्थ नमूना भने नभेटिएको कृषि प्रशार अधिकृत पण्डितले बताए । 

माटोको परीक्षणपछि माटोको उर्वराशक्तिबारे जानकारी लिएर सोहीअनुसारको मल प्रयोग गर्ने र सोही किसिमको खाद्यबाली लगाउने टुंगो गरिन्छ । तर माटो परीक्षण गर्ने र उपचार गरेर खेतीपाती गर्ने प्रचलन भने अझै व्यापक बन्न सकेको छैन ।