७ बैशाख २०८१, शुक्रबार

युएईमा अलपत्र १६८ जना नेपालीहरु स्वदेश आइपुगे

uae nepali yQCWQDH4MK

सरकारले म्यान्मारसँगै शुक्रबारै संयुक्त अरब इमिरेट्स (युएई) बाट पनि नागरिकको उद्धार गरेको छ । कोभिड–१९ को विश्वव्यापी सङ्मणका कारण उत्पन्न असहज अवस्थामा स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपालीलाई फर्काउने क्रममा शुक्रबार युएईमा अड्किएका १६८ नेपालीलाई स्वदेश फर्काएको हो ।

संयुक्त अरब इमिरेट्स (युएई)बाट एक जना शिशु सहित १ सय ६८ जना नेपाली काठमाडौं आइपुगेका छन् । कोभिड–१९ भाइरसको महामारीका कारण यूएईमा समस्यामा परेका १५७ जना नेपाली नागरिक लिएर आएको विमान काठमाडौंमा अवतरण गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका निर्देशक तथा प्रवक्ता देवचन्द्रलाल कर्णले उनीहरु एयर अरेबियाको एविवाई¬१७५१ नम्बरको जहाजमार्फत शुक्रबार साँझ ६ः०० बजे काठमाडौँ अवतरण गरेको जानकारी दिए । जहाजमा एउटा शवसमेत ल्याइएको छ ।

uae

इजादा फ्यासिलिटी म्यानेजमेन्टमा कार्यरत ६७, टान्स गार्ड सेक्युरिटी कम्पनीमा कार्यरत ७९ जना र अन्य ११ जना गरी १ सय ५७ जना नेपाली उक्त विमानमा नेपाल आएका छन् ।

नेपाल आइपुगेकाहरु नेपाली दूतावासले प्राथमिकताको आधारमा तय गरिएका व्यक्तिहरु भने होइनन् । दुई वटा सुरक्षा कम्पनीमा आवद्ध भई काम गर्दै आएका र करार अवधि समाप्त भएपछि नेपाल फर्किनबाट रोकिएका व्यक्तिहरु रहेका छन् । १ सय ६८ जनामध्ये ट्रान्सगार्ड कम्पनीका ७९ जना र इजादा कम्पनीका ६७ जना रहेका छन् । बाँकी अन्य कम्पनीमा काम गर्ने नेपालीहरु हुन् ।

सैनिक स्रोतका अनुसार यसअघि तय भएको सूचीका व्यक्ति उनीहरु होइनन् । ‘यसअघि गर्भवतीसहित अन्य समस्यामा परेका नेपाली ल्याउने तयारी थियो, त्यही अनुसार होल्डिङ सेन्टर छुट्टाएका थियौं’, स्रोतले भन्यो, ‘अब पहिलेको तयारी अनुसार नमिल्ने भएपछि पहिले विमानस्थलमा सबैको व्यक्तिगत विवरण लिएर मात्र कहाँ लगेर राख्ने भन्ने तय हुन्छ ।’ उनीहरुलाई नेपाली सेनाले तोकेको होल्डिङ सेन्टरमा राखिने छ ।

प्रदेशगत रुपमा व्यवस्थापन गर्नुअघि राख्नलाई काठमाडौं, भक्तपुर र ललितपुरमा गरी ९ वटा होल्डिङ सेन्टर सेनाले तयार गरेको छ । त्यसपछि स्वास्थ्य जाँच लगायतका प्रक्रिया पूरा गरेर आइसोलेसन, क्वारेन्टिन वा होम क्वारेन्टिनमा राख्ने तय हुनेछ ।

नेपाल सरकारले तय गरेको प्राथमिकताका आधारमा नेपाल पठाउने गरी दूतावासले सूची तयार गरेको थियो । तर, प्राविधिक कारण देखाउँदै उनीहरुलाई यूएईमै रोकिएको छ ।

सीसीएमसी स्रोतले उडान भाडा सम्बन्धी समस्या सिर्जना भएको जनाएको थियो । त्यसपछि उत्पन्न अफ्ठ्यारो परिस्थितिका बीच दुई वटा कम्पनीले एयरलाइन्ससँगको समन्वयमा आफ्ना कामदार नेपाल पठाउने तय गरेको थियो ।

यूएईबाट कम्तिमा १८ हजार जना नेपाली स्वदेश फर्कन चाहेको त्यहाँस्थित नेपाली दूतावासको भनाइ छ । शुक्रबार आउनलाई तय भएका व्यक्तिसहित अन्यको उडान अब कहिले हुन्छ भन्ने तय भइसकेको छैन ।

यसअघि शुक्रबार बिहान म्यानमारमा रोकिएर रहेका २६ जना नेपालीलाई म्यानमार एयरर्फोर्सको विमान मार्फत ल्याइएको थियो ।

म्यानमारबाट सेनाको विशेष विमान काठमाडौं आएकाहरुलाई बसुन्धारस्थित यती पार्टी प्यालेसमा बनाइएको होल्डिङ सेन्टरमा राखिएको छ । अहिले उनीहरुलाई होम क्वारेन्टिनमा राख्ने गरी पठाउने कार्य भइरहेको छ ।

myanmar1 768x517 1

यूएईबाट आएकामध्ये सबैभन्दा बढी प्रदेश १ का

यूएईबाट शुक्रबार काठमाडौं ल्याइएको १६९ जनामध्ये सबैभन्दा बढी प्रदेश १ का नागरिक छन् ।

उद्दार र व्यवस्थापनको कार्यमा खटिइरहेको क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का अनुसार प्रदेश नं. १ का ४६, २ का २३ र बागमतीका ३७ जनालाई काठमाडौं ल्याइएको छ । गण्डकी प्रदेशका २८, प्रदेश नं. ५ का १८, कर्णालीका ४ र सुदुर पश्चिम प्रदेशका १२ जना नागरिक छन् ।

उनीहरुमध्ये ६७ जना यूएईको इजादा फ्यासिलिटी म्यानेजमेन्ट, ७९ जना टान्स गार्ड सेक्युरिटी कम्पनी र ११ जना अन्यमा कार्यरत थिए । विमानस्थलमा अभिलेख संकलनपछि उनीहरुलाई प्रदेशगत रुपमा काठमाडौं, भक्तपुर र ललितपुरको होल्डिङ सेन्टरमा राखिएको छ ।

सीसीएमसीका अनुसार नेपाली सेनाको व्यवस्थापनमा काठमाडौंमा बागमती, गण्डकी र ५ नं. प्रदेश, भक्तपुरमा प्रदेश १ र २ र ललितपुरमा कर्णाली र सुदुर पश्चिम प्रदेशका नागरिकलाई राखिएको छ ।

सेन्टरमा विदेशबाट आएका नागरिकको व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षण लगायतका कार्यहरु हुनेछन् । त्यसपछि सम्बन्धित प्रदेशहरुको समन्वयमा त्यहीँ क्वारेन्टाइनमा राख्ने गरी पठाइनेछ ।

उनीहरुको क्वारेन्टाइन अवधि १४ दिनको हुनेछ ।