१२ बैशाख २०८१, बुधबार

दूध र मासुको उत्पादन बढाउन लुम्बिनीमा ३८ करोड लगानी

puna nirmaan money

समूह सहकारीमार्फत दूध र मासुको उत्पादन बढाउन नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले लुम्बिनी प्रदेशका ७ जिल्लामा ३८ करोडभन्दा बढी लगानी गरेको छ । व्यावसायिक पशु पालनमा लागेका प्रदेशका ४ हजार १ सय ५९ किसान यसबाट लाभान्वित भएका छन् । उन्नत नश्लका पशुबाट उत्पादन र उत्पादकत्व त बढेको छ नै किसानलाई लागतसमेत कम पर्न थालेको छ ।

बर्दियाको बढैयाताल गाउँपालिकाका महेन्द्र पौडेलले बाख्रा पालन गर्न व्यवस्थित खोर तयार पारेका छन् । उमेर समूह र जातअनुसारका बाख्रा अलग्याएर छुट्टा-छुट्टै खोरमा राखिएको छ । पाठापाठी स्वस्थ राख्न उनले सन्तुलित आहारसागै औषधोपचार पनि नियमित गर्छन् । प्रतिफल राम्रो लिन नसकेर बन्द गरेको व्यवसायलाई आधुनिक तरिकाबाट पुन: थालेका पौडेलले हाल बाख्रा पालनबाट राम्रो आम्दानी लिन थालेका छन् ।

यस्तै रोमा चन्दले खसीबाख्रालाई घाँसको सट्टा दाना बढी खुवाउँथिन् । यसो गर्दा खसी धेरै मोटाउलान् र पैसा धेरै आउला भन्ने उनलाई लाग्थ्यो तर लागतअनुसारको मुनाफा भने भएन । अहिले साइलेज, कोशे अकोशे घाँससँगै दाना मिलाएर सन्तुलित आहार दिन थालेपछि लागत कम परेको उनको अनुभव छ ।

तालिमको व्यवस्थासँगै प्राविधिक सीप सिकाउन पशु चिकित्सकहरू किसानका घरघरमा पुग्ने गरेका छन् । सहज तरिकाले प्राविधिक सीप र सेवा पाएपछि किसानलाई व्यवसाय अघि बढाउन झन्झट कम भएको छ ।

सरकारले व्यवस्थित गोठ बनाउन, उन्नत नश्लका जनावर खरिद, यान्त्र उपकरणसँगै पशुपालन गर्न प्राविधिक सीपसमेत सिकाउने गरेको छ । लगानी गर्न नसकेका किसानलाई व्यवसाय वृद्धि गर्न परियोजनाबाट मद्दत मिलेको छ ।

लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची, पाल्पा, पश्चिम नवलपरासी, बर्दिया, कपिलवस्तु र रूपन्देहीका विभिन्न ४७ वटा समूह-सहकारीमार्फत दूध र मासु मूल्य श्रृङ्खलामा काम भैरहेको छ । प्राविधिकले स्थलगत अनुगमन गरेर प्रमाणित गरेपछि मात्रै भुक्तानी दिने भएकाले पनि वास्तविक किसान यस परियोजनाबाट लाभान्वित भएका छन् ।

    सम्बन्धित समाचार...